थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ८ जेठ । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज गरिएको पिसिआर परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
उनले संक्रमितहरु क्रमशः रुपन्देहीमा एक जना पुरुष र झापाका ८ जना पुरुषहरु रहेको बताए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।
संक्रमितहरुमा ३ सय ८३ पुरुष र ७० जना महिला रहेका छन् ।
साथै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत ४ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या ४९ पुगेको छ ।
यस्तै नेपाल सरकारले बनाएको मोबाइल एपमा आफ्नो नाम दर्ता गराएका मध्ये हालसम्म नेपालमा ४ सय ३५ जना कोरोना भाइरस संक्रमणको जोखिममा रहेका छन् ।
यस्तै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।