देवचुलीका कोरोना संक्रमित पुरुषको दोस्रो कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ

चितवन, ७ जेठ । देवचुलीका कोरोना संक्रमित पुरुषको कोरोना भाइरस (कोभिड–१९) दोस्रो पटक परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएको छ ।
पूर्वी नवलपरासी (नवलपुर) को देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा बुधवार दोस्रो पटक पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । बुधवार नै परीक्षण गरिएका अन्य ७९ वटा रिपोर्ट भने नेगेटिभ आएको उनले बताए ।
उनी वैशाख ३० गते मध्यराति चितवनको भरतपुर कोराना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए । ३१ गते स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाईएको थियो । जेठ १ गते बिहान परीक्षणको नतिजामा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सोही दिन उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको थियो । चितवनमा रहेको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
डा. तिवारीका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको भरतपुर कोराना विशेष अस्थायी अस्पतालमा उपचार भैरहेको छ ।
रक्सौलबाट ट्रकमा चढेर भरतपुरको केन्द्रीय बस टर्मिनल झरेर उनी हिडेँर विमानस्थल अगाडिको बाटो हुँदै चौबीसकोठीबाट कोरोना अस्पतालसम्म पुगेका थिए । कोभिड–१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । संक्रमितका अनुसार भारतको कोलकत्ताबाट आएका उनी रक्सौलसम्म पनि ट्रकमा नै आएको उनले बताएका थिए । कोलकत्ताबाट आएको ट्रकमा चालक, सहचालक र उनी थिए । त्यस्तै रक्सौलबाट भरतपुरसम्म आएको ट्रकमा उनी र चालक मात्र थिए ।
चितवनको भरतपुमा रहेको भरतपुर कोराना विशेष अस्थायी अस्पताल र भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला दुवै भरतपुर अस्पताल मातहत संचालनमा छन् ।
यसअघि पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित २७ वर्षीय पुरूष वैशाख १३ गते र ६३ वर्षीया महिला वैशाख ३१ गते निको भएर घर फर्किसकेका छन् । उनीहरू एकै परिवारका आमा-छोरा हुन् । उनीहरूको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेको क्याविनमा राखेर उपचार गरिएको थियो ।
चैत ३ गते बेलायतबाट नेपाल आएका उनीहरू चैत ५ गते सार्वजनिक यातायात मार्फत काठमाडौंदेखि चितवन घरसम्म आएका थिए । उनीहरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षण रिपोर्टको आधारमा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।