भारतबाट फर्किएका धनगढीका तीन जना कोरोना आशंकामा सेती अस्पतालमा भर्ना

धनगढी, ७ जेठ । भारतबाट फर्किएका तीन जनालाई कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १८ का ३० वर्षीय पुरुष, वडा नम्बर ८ का २१ वर्षीय युवक र वडा नम्बर ३ का २८ वर्षीय युवकलाई कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
तीन मध्ये दुई जनालाई क्वारेन्टाइनमा राखिएको र एक जनालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आईसोलेसनमा भर्ना गरिएको सूचना अधिकारी श्रेष्ठले बताए । तीनै जना भारतबाट आएका हुन् र उनीहरुको स्वाब संकलन भोली मात्रै हुने उनले बताए ।
यसअघि बुधवार नै कोरोना आशंकामा एक युवक सेती अस्पतालमा भर्ना भएका छन् । बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय युवकलाई आईसोलेसनमा भर्ना गरिएको हो । सेती प्रादेशिक अस्पतालबाट अहिलेसम्म पाँच जना संक्रमित सहित ५७ जना डिस्चार्ज भईसकेका छन् ।
गौरीफन्टा पुगे सयौँ नेपाली, तर परीक्षण गर्ने किट छैन
भारतका विभिन्न क्षेत्रबाट नेपाली मजदुरहरु गौरीफन्टा नाकामा पुगेका छन् । पलियामा अलपत्र परेका उनीहरु अहिले गौरीफन्टा नाकामा स्वदेश फिर्ताको अनुमतिका लागि पर्खिरहका छन् । प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरे उनीहरुलाई सम्बन्धीत स्थानीय तहमै पठाउने तयारी भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।
‘झण्डै पाँच सय जना दशगजामा पुगिसकेका छन् । स्थानीय प्रशासनले कैलालीमै सबैको व्यवस्थापन गर्न सक्दैन् । केही स्थानीय तहले मात्रै बस पठाउने कुरा गरेका छन् । हामी बसको पर्खाइमा छौं ।’ जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले भने ।
उनले गाडी पठाएका स्थानीय तहका वासिन्दालाई बुधवार नै पठाउने तयारी भईरहेको र अन्य स्थानीय तहसंग समेत समन्वय भईरहेको बताए । उनका अनुसार अहिले पनि सीमा क्षेत्रमा नेपालीहरु आउने क्रम जारी नै रहेको बताए ।
प्रदेश सरकारले ¥यापिड टेस्टका लागि किट नदिएपछि उनीहरुको ज्वरो मात्रै परीक्षण भईरहेको समेत स्थानीय प्रशासनले जनाएको छ । नाका पुगेका नेपालीहरुले देशमा तीन तहको सरकार भएको अनुभुती समेत नभएको बताएका छन् ।
उनीहरुले भारतमा रोजगारी गुमाएपछि निकै कष्टकर दैनिकी बिताउन परेको बताउँदै तीन तहकै सरकारले उद्दारका लागि वेवास्ता गरेको बताए ।
धनगढी प्रयोगशाला मार्फत २४ घण्टामा एक सय ६३ जनाको कोरोना परीक्षण
धनगढी प्रयोगशाला मार्फत पछिल्लो २४ घण्टामा एक सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मंगलावर राति र बुधवार बिहान गरी एक सय ६३ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती मध्ये बुधवार ९९ जनाको कोरोना परीक्षण गरिएको धनगढी प्रयोगशालाले जनाएको छ ।
यस्तै प्रदेशभरी पछिल्लो २४ घण्टामा एक सय ६४ जनाको नमुना संकलन गरिएको छ भने दुई सय ४१ जनाको नमुना परीक्षण गर्न बाँकी छ । यस्तै सुदूरपश्चिम प्रदेशभरी पछिल्लो २४ घण्टामा चार सय २६ जनाको ¥यापिड टेस्ट गरिएको छ । र्यापिड टेस्ट गर्दा बुधवार २ जनामा एन्टिबडी देखाएको छ । उनीहरुको पीसीआर मार्फत परीक्षण गरिने छ ।
यस्तै सुदूरपश्चिम प्रदेशभरी अहिलेसम्म तीन हजार नौँ सय ६ जनाको कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । पाँच जना बाहेक सबैको रिपोर्ट नेगेटिभ देखाएको बताउँदै निर्देशनालयले एक हजार ५ सय ८६ जनाको धनगीस्थित प्रयोगशाला मार्फत परीक्षण गरिएको र दुई हजार तीन सय १६ जनाको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरिएको जानकारी दिएको छ ।
प्रदेशभरी अहिलेसम्म १९ हजार चार सय ८५ जनाको र्यापिड टेस्ट गरिएको छ । जसमा विभिन्न जिल्लाका ३८ जनामा एन्टिबडी देखाएकोमा अहिले सम्म ३५ जनाको मात्रै पीसीआरबाट पुष्टि गरिएको छ । ३५ जनामै कोरोना भने नदेखिएको निर्देशनालयले जनाएको छ । बाँकी तीन जनाको भने पीसीआर परीक्षण गर्न बाँकी छ ।