पिसिआर जाँचका लागि निजी अस्पतालले शुल्क लिन सक्ने सरकारको निर्णय, तर शुल्क तोक्न बाँकी

काठमाडौं, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि पिसिआर परीक्षण गर्दा शुल्क लाग्ने नीतिगत निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दै गएको कोरोना संक्रमितको स्वाब विधिबाट नमूना परीक्षणको दायरा बढाउने उदेश्यका साथ पिसिआर विधिबाट निजी स्वाथ्य संस्थाले शशुल्क जाँच गर्न सक्ने नीतिगत निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्ड अनुसार पिसिआर विधिबाट नमूना परीक्षण गर्न सकिने हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले भने, ‘प्रयोगशालाले तोकेको मापदण्ड अनुसार गोपनियता कायम राखि तोकिएको दररेटमा स्वास्थ्य संस्थाले लक्षण नदेखिएका स्वदेशी तथा विदेशी नागरिकले चाहेको खण्डमा सशुल्क पिसिआर विधिबाट नमूना परीक्षण गर्न पाउने नीतिगत निर्णय गरिएको छ । तर, पिसिआर विधिबाट गरिने जाँचका लागि भने शुल्क निर्धारण गरिएको छैन ।’
डा.देवकोटाले थपे, ‘पिसिआर विधिबाट सशुल्क जाँच गर्न पाउने नितिगत निर्णय मात्रै भएको छ । अबको एक दुई दिनमा विज्ञसहितको छलफलपछि शुल्क निर्धारण गरिनेछ ।’
डा.देवकोटाले यस विषयमा विज्ञसहितको टोली र नीजि अस्पतालसँगको छलफलपछि सबैका लागि एक समान र एक रुपताका साथ मात्रै शुल्क निर्धारण गर्ने र मापदण्ड निर्धारण गर्ने पनि बताए ।
यस विषयमा मन्त्रालयले सूचना नै पनि जारी गरिसकेको छ । र अनावश्यक हल्ला फैलाउने काम नगर्नपनि सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ ।
प्रयोगशाला विज्ञ पुष्पराज खनालले पिसिआर जाँचका लागि सरकारले अपनाएको नीति कोरोना परीक्षणको दायरा बढाउने उदेश्यले राम्रो भएको बताए । हाम्रो डाक्टर न्यूजसँगको कुराकानीमा उनले एक जनाको पिसिआर रिपोर्टका लागि कम्तिमा ७ देखि ८ हजार खर्च लाग्न सक्ने बताए ।
उनले भने, ‘पिसिआर जाँचका लागि उसको विभिन्न पक्षको खर्च जोडिने भएकाले महँगो हुने हो । जनशक्ति, रि एजेन्ट, पिसिआर किट, एक्सट्राक्सन किट, भीटिएम, लगानी लगायतको खर्च पर्ने हुनाले पिसिआर विधिबाट जाँच गर्नु महँगो हुन्छ ।’
कतिपय स्थानमा पिसिआर जाँच हुन नसकिरहेको अवस्थामा सरकारले गरेको यो व्यवस्थाबाट मानिसहरु जसरी नीजिमा गएर आफ्नो स्वास्थ्य जाँच गराउने गर्छन् त्यसरी नै अब आफू र आफ्नो परिवारलाई स्वस्थ राख्न सकिन्छ भन्नका लागि सरकारले पिसिआर जाँचका लागि निजीलाई पनि अनुमति दिएको उनको भनाइ छ ।
खनाल भन्छन्, ‘सरकारले गर्नेजति स्थानमा निःशुल्क पिसिआर जाँच गरि नै रहेको छ । तर, यसलाई नकारात्मक भन्दा पनि सकारात्मक सोच्नुपर्छ । कुनैपनि व्यक्ति स्वइच्छिाले निजीमा गएर पिसिआर जाँच गराउनु भनेको कोरोना परीक्षण र संक्रमित पत्ता लगाउने दायरा फरकाकिलो बनाउनु हो ।’
जति छिटो कोरोना संक्रमितको जाँच गर्ने दायरा बढ्छ त्यति नै छिटो संक्रमित फेला पर्ने र उपचार पाउने तथा संक्रमण फैलिनबाट रोक्नमा मद्दत पुग्ने उनको भनाइ छ ।