कोरोना संक्रमित कहाँ फेला परे भन्ने बारेमा पनि विवरण सार्वजनिक गर्न सरकारलाई निर्देशन

काठमाडौं, ७ जेठ । राष्ट्रिय सूचना आयोगले कोरोना संक्रमण पुष्टि भएकाहरुको हालको विवरण सार्वजनिक गर्न सरकारलाई आदेश जारी गरेको छ ।
आयोगले मंगलवार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जुन व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो त्यो व्यक्ति संक्रमित भएको स्थानको विवतरण सार्वजनिक गर्न आदेश दिएको हो ।
सरकारले संक्रमित व्यक्तिको स्थायी ठेगाना मात्र दिँदा उनीहरुको कन्ट्र्याक्ट ट्रेसिसंगको काममा अन्यौलता देखिएपछि संक्रमण हुँदाको स्थानसमेत सार्वजनिक गर्न आयोगले आदेश जारी गरेको आयोगका प्रवक्ता कमला ओली थापाले बताइन् ।
‘‘कोरोना भाइरसको संक्रमण वा यसैका कारण मृत्यु भएका व्यक्तिहरुको विवरण सार्वजनिक गर्दा संक्रमण वा मृत्यु हुँदाको बखत बसोबास गरेको स्थान वा स्थायी ठेगाना समेत उल्लेख गर्न सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आयोगले २०७७ जेठ ६ मा आदेश दिइएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै विज्ञप्तिमा भनिएको छ, 'कतिपय अवस्थामा व्यक्तिगत प्रकृतिका सूचनाहरु प्रकाशन, प्रसारण तथा सामाजीक सञ्जालमा सार्वजनिक भइरहेको पाइएको छ । यसबाट सम्बन्धीत व्यक्ति र परिवारमा पर्ने प्रभाव दुःखदायी र दुरगामी हुन सक्ने भन्दै यस सन्दर्भमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २८ ले सार्वजनिक निकायले आफूसमक्ष रहेका व्यक्तिगत प्रकृतिका सूचनाहरु अनधिकृत प्रकाशन र प्रसारण नहुनेगरि संरक्षण गरिराख्नु पर्नेछ भन्ने व्यवस्था गरेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराइन्छ ।'