महामारीका चुनौतीलाई मिलेर सामना गर्न विश्व समुदायलाई मन्त्री ढकालको अपिल

काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस नियन्त्रणमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न मुलुकले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनको ७३ औं सभामा बोल्दै मन्त्री ढकालले कोरोना महामारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको भन्दै नेपाललाई सहयोग गर्ने राष्ट्रहरुलाई धन्यवाद दिएका छन् ।
उनले विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न संगठनले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टी भएको भन्दै सर्वव्यापी स्वास्थ्य सुरक्षाको लागिसदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नु पर्ने आजको आवश्यकता भएको उल्लेख गरे ।
कोरोना विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउदै महामारीका चुनौतीहरूलाई संयुक्तरूपमा सामना गर्न विश्व समुदाय समक्ष उनले आग्रह समेत गरे ।
मन्त्री ढकालले विभिन्न प्रतिकुलताका बावजुद पनि उपलब्ध प्रविधिको प्रयोग गरी सञ्चालित विश्व स्वास्थ्य महासभाको पूर्ण सफलताको कामना गर्दै कोभिडको विश्वव्यापी महामारीका सन्दर्भमा हामी निकै कठिन घडीबाट गुज्रीरहेकाले सबै सयंम भएर यस महामारीको लडाईंमा लाग्नुपर्ने बताए ।
साथै महामारीको लडाईंमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबै निकायलाई धन्यवाद दिँदै मन्त्री ढकालले कोभिड लगायत यस्ता संक्रामक रोगहरूको कुनै सीमाना हुदैन र यसले कुनै रंग, समुह र वर्ग बीच विभेद नगर्ने हुनाले हामी सबै सचेत हुनु आवश्यक रहेको औल्याए ।
मन्त्री ढकालले कोभिड बाट हालसम्म नेपालमा दुई जनाको ज्यान गएको र मानवीय क्षति नभएता पनि संक्रमितको संख्या केही दिन यता बढ्दो क्रममा रहेको जानकारी गराउँदै आउदा दिनहरू हाम्रा लागि थप चुनौतीपुर्ण हुन सक्ने उल्लेख गरे ।
मन्त्री ढकालले आफ्नो मन्तव्यमा भने, 'स्वास्थ्य विकासको एक प्रमुख आधार हो । निःसन्देह नै स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको छ । यस महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको छ । त्यसैले हाम्रा समग्र प्रयासहरूलाई सघन बनाउन सबैको सहयोगको अपेक्षा राखेको छु ।'