धनगढी प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

धनगढी, ६ जेठ । धनगढी प्रयोगशालामार्फत सोमबार राती ७१ जनाको कोरोना परीक्षण गरिएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार सबै ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
कैलाली ३९, कञ्चनपुर १७, डोटी र बाजुरा ४–४, बैतडी र दार्चुला २–२, बझाङ, दाङ र बर्दियाका १–१ वटा नमुना परीक्षण गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा कोरोना आशंकामा भर्ना भएका पाँच जनाको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको उनले बताए । आइसोलेसनमा भर्ना भएका गौरीगंगा नगरपालिकाका २९ वर्षीय पुरुष, कैलारी गाउँपालिका–१ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका–५ का ३० बर्षीय पुरुष, उनकी २९ बर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका–१३ का ३० बर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको हो।
हिजो दिउँसो प्रयोगशालामार्फत एक सय दुई जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। संघीय सरकारले पशुपक्षि अन्वेषण प्रयोगशालामा आरटी–पिसिआर जडान गरेपछि धनगढीमा परीक्षण सुरु भएकोमा अहिलेसम्म धनगढी प्रयोगशाला मार्फत भएको परीक्षणमा कसैमा पनि कोरोना पुष्टि भएको छैन्।