बाँकेमा एकैदिन ४७ र अन्य स्थानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ जेठ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा एकैदिन ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा बाँकेका ४७ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।
संक्रमितहरु सबै बाँकेका हुन् । उनीहरु केहिदिन अघि मात्रै भारतबाट नेपाल आएका थिए ।
बाँकेको संक्रमितमध्ये ४६ जना पुरुष र महिला एक जना छन् । यस्तै भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना पुरुष, धुलिखेलमा गरिएको परीक्षणमा धनुषा, रौतहट, दांग र धादिंगका गरि चार जना पुरुष, विराटनगर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मोरंगका एक जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
उनले नेपालमा कोरोना संक्रमण देखिएका मध्ये २ सय ५८ पुरुष र महिला ५९ जना रहेको बताए ।