कपिलवस्तुको क्वारेन्टाइनबाट ४५ जना भागे

रुपन्देही, ४ जेठ । कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ स्थित दुई छुट्टाछुट्टै क्वारेन्टाईनमा बस्दै आएका मध्ये ४५ जना भागेका छन् । कोरोना संक्रमित फेला परेका गाउँका ती व्यक्तिहरु भागेपछि कपिलवस्तुमा त्रास फैलिएको छ ।
तीन दिनदेखि मानिस भाग्दा समेत स्थानीय प्रशासनले ति व्यक्तिको खोजी नगरेको स्थानीयको आरोप छ। भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाईनमा नराखेको भन्दै क्वारेन्टाईनमा रहेका व्यक्तिहरु शुक्रबार र शनिबार राती भागेको खुल्न आएको छ । कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिकामा हालसम्म १२ जना कोभिड–१९ संक्रमित फेला परेका छन । सो मध्ये सबै भन्दा बढी संक्रमित वडा नम्बर ८ कै पाँच जना छन् । वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राबिमा निर्मित क्वारेन्टाईनका ३० जना भन्दा बढी र शनिबार सोही वडाको राष्ट्रिय निमाबि सिहोखोरका थप १५ जना क्वारेन्टाईन छोडेर भागेको वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले वताए । हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाँउकै हुन् । ‘केहि व्यक्तिले गाउँका अरु व्यक्ति क्वारेन्टाईनमा बसेनन ।
हामी किन बस्ने भन्दै अस्ती र हिजो क्वारेन्टाईनबाट भागे ।’ वडा अध्यक्ष मुसलमानले भने । यसअघि भारतको मुम्बईबाट आएर दुई दिन बसेका व्यक्तिलाई सुरक्षकर्मीले क्वारेन्टाईन पुर्याई परीक्षण गर्ने क्रममा खोरिया गाँउका ति स्थानियको कोरोना पोजेटिभ देखिएको थियो ।
यसै त बिगतमा भेटिएका संक्रमितहरु दुई दिन बस्दा संक्रमणको जोखिम बढी देखिन आएको थियो भने क्वारेन्टाईनका मानिस गाउँ पसेपछि स्थानीयमा त्रास बढेको हो । यशोधरा गाँउपालिका–८ को क्वारेन्टाईनमा राखिएका केही व्यक्ति क्वारेन्टाईन छोडेर भागेको यशोधरा गाँउपालिकाका स्वास्थ्य शाखाका संयोजक ज्योतीप्रकाश दुबेले जानकारी दिए । ‘घटना बारे जानकारी पाए सँगै मैले तत्कालै गाँउपालिका अध्यक्षलाई जानकारी दिए । उहाँले प्रशासनलाई खबर गर्नु भयो ।’ स्वास्थ्य संयोजक दुबेले भने ।
घटनापछि प्रजिअलाई गाउँ शिल गरिदिन र सुरक्षाकर्मी खटाईदिन अनुरोध गरेको थिए । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आफुलाई गाँउपालिका अध्यक्षले हिजो मात्रै घटना बारे जानकारी दिएको र सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि क्वारेन्टाईनबाट भागेकालाई नियन्त्रणमा लिईने बताए ।