नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुग्यो

रुपन्देही, ४ जेठ । बाँकेको क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।
योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यसअघि गत शनिवार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोना भाइरसको पुष्टि भएको थियो ।
आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए । भारतबाट आएका उनलाई सिधै क्वारेन्टाइनमा लगिएको थियो ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन्। मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए ।