कोरोनाबाट थप मानवीय क्षति हुन नदिने प्रधामन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीबाट थप मानवीय क्षति हुन नदिन सरकार लागि पर्ने प्रतिवद्धता जनाएका छन् । उनले कोरोनाको महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले गरेका प्रयासलाई थप सशक्त बनाउने ट्वीटरमार्फत जनाएका हुन् ।
सिन्धुपाल्चोकमा एक सुत्केरीको कोरोना संक्रमणबाट शनिवार मृत्यु भएपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी महिलाको मृत्युको खबरले आफू अत्यन्त दुखित भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले ट्विटरमार्फत नै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
गत २४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी ती महिलाको मृत्युसँगै नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो ।