कोरोना संक्रमणका कारण मृत्युपछि अध्ययनका लागि मन्त्रालयको विशेष टोली सिन्धुपाल्चोक जाँदै

काठमाडौं, ४ जेठ । नेपालमा पहिलो पटक (कोभिड–१९) संक्रमणबाट सिन्धुपाल्चोकमा एकजना महिलाको मृत्यु भएपछि त्यसबारेमा अध्ययन गर्नका लागि सरकारी टोली सिन्धुपाल्चोक जाने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली घटनाको अनुसन्धान गर्न आज सिन्धुपाल्चोकको बाह्रबिसे जान लागेको हो । टोलीले महिलाको घर, माइती, वरपरका बजार र उनको सम्पर्कमा आएका व्यक्तिको सम्भावित जोखिम आँकलन गर्ने छ ।
स्वास्थ्य मन्त्रालय र प्रदेश मन्त्रालयको टोली आज सिन्धुपाल्चोक आउन लागेको बाह्रबिसे नगरपालिकाका प्रमुख निमाफुन्जो शेर्पाले बताए ।
सिन्धुपाल्चोकको बाह्रबिसे–नौ राम्चेका २९ वर्षका महिलाको कोरोना संक्रमणबाट बिहीवार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
आफ्नो निर्वाचन क्षेत्रका महिलाको कोरोनाबाट मृत्यु भएको जानकारी पाएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी स्वास्थ्य विज्ञको टोली पठाउन आग्रह गरेका थिए ।
सभामुख र स्वास्थ्य मन्त्रीबीच मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी नेतृत्वको टोलीलाई सिन्धुपाल्चोक पठाउने कुराकानी भएको थियो । स्वास्थ्य मन्त्रालयको मन्त्रालयको टोलीसँगै बागमती प्रदेश सरकारको द्रुत प्रतिकार्य टोली पनि सिन्धुपाल्चोक जाँदै छ । धादिङमा रहेको प्रदेश सरकारको टोली शनिवार राति काठमाडौं आइपुगेको र आज सिन्धुपाल्चोक पुग्ने जनाइएको छ ।