कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु

काठमाडौं, ३ जेठ । नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२५ वैशाखमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट सुत्केरी पश्चात डिस्चार्ज भएर घर फर्केकी महिलालाई श्वासप्रश्वासको समस्या, ज्वरो जस्तो लक्षण देखिएपछि उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा मृत्यु भएको थियो । यो विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुसन्धानबाट ती महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
शुक्रवार मृत्यु भएकी महिलाको धुलिखेल अस्पतालमा पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । थप पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र त्यहाँपनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु धनुषाका २० र ६५ वर्षका दुई जना पुरुषहरु छन् । मन्त्रालयले शनिवार राति ८ः ५० मा सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार नेपालमा कोरोना भाइरसको कारण पहिलो मृत्यु भएको र संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।