धुलिखेल अस्पतालमा पिसिआरमा कोरोना पुष्टि भएकी महिलाको मृत्यु, थप पुष्टिका लागि नमूना टेकु पठाइयो

काठमडौं, ३ जेठ । धुलिखेल अस्पतालमा उपचाररत एक जना सुत्केरीको मृत्यु भएको छ ।
अस्पतालमा भर्ना भएकी २९ वर्षीया एक महिलाको उपचारको क्रममा शुक्रवार मृत्यु भएको अस्पतालले जनाएको छ ।
सिन्धुपाल्चोक स्थायी ठेगाना भएकी ती महिला १० दिनकी सुत्केरी थिइन् । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केपछि बिरामी भएर तीनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।
सुत्केरी पश्चात उनको रगत बग्ने तथा स्वासप्रस्वासमा पनि समस्या देखिएको थियो । अस्पताल आएपछि एक्स रे गर्दा छातीमा निमोनियापनि देखिएपछि उनको पीसीआर टेस्ट गरिएको थियो ।
कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा उनको थ्रोट स्वाबको परीक्षण गरिएको र आजमात्रै पीसीआरमा उनको रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका एक जना डाक्टरले नाम नखुलाउने शर्तमा हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले धुलिखेल अस्पतालमा ती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भएपनि थप पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पुनः जाँचका लागि पठाइएको बताए । साथै कोरोना संक्रमितको जानकारी स्वास्थ्य मन्त्रालयले नै दिने भएकाले यो विषयमा आधिकारिक जानकारी मन्त्रालयले नै सार्वजनिक गर्ने पनि बताए ।
यदि टेकुको नतिजामा पनि कोरोना पुष्टि भएको आयो भने यो नेपालको पहिलो कोरोना संक्रमितको मृत्यु हुनेछ ।