एम्बुलेन्स चढेर दाङ आएका थिए गढवाका दुई जना संक्रमित

दाङ, ३ जेठ । दाङमा एकै पटक ३ जनामा कोरोनाको संक्रकण पुष्टि भएको छ । गढवा गाउँँपालिका वडा नं. ४ र ५ निवासी २३ र ३६ वर्षिय पुरुष रहेका छन् ।
कोरोना संक्रमणको पुष्टि भएका मध्ये गढवाका दुई जना संक्रमित गढवा उद्योग बाणिज्य संघको एम्बुलेन्स चढेर दाङ आएका थिए । उनिहरुलाई गढवा स्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले बताए ।
भारतको मुम्बई र गोरखपुरबाट काम गरेर फर्किएका ती युवक कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । त्यहाँ कोरोना परिक्षण नगरेर उनिहरुलाई तीन दिन अघि एम्बुलेन्स मार्फत सिधै गढवा क्वारेन्टाइनमा ल्याईएको थियो ।
बिहीबार लमही ल्याएर उनिहरुको स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा पठाइएको थियो । प्रतिष्ठानमा पोजेटिभ देखिएपछि थप परिक्षणका लागि नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताल लगिएको थियो ।
कृष्णनगरको एक विद्यालयको क्वारेन्टाइनमा बसेका उनिहरुलाइ गढवा गाउँपालिका वडा नम्बर ३ को सिफारिसको आधारमा गढवा ल्याइएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । दुई जना लिन जाने भनेर सिफारिस बनेतापनि पाँच जना एम्बुलेन्समा चढेर आएका थिए । पाँच जना मध्ये १ जना कालाकाटे झरेका थिए भने अरु चार जना सबै गढवा क्वारेन्टाइनमा आएका अध्यक्ष आर्चायले बताए । ति मध्ये दुई जनामा कोरोना पुष्टि भएको हो भने दुई जनाको रिर्पोट आउन बाकी रहेको छ । कालाकाटेमा झरेका एक जना बंगलाचुली गाउँपालिकाका हुन् र तीनको खोजी कार्य भइरहेको छ ।
उनिहरुलाई शुक्रबार राति ११ बजे नै कोरोना विशेष अस्पताल बेल्झुण्डीमा उपचारका लागि लगिएको छ । त्यसैगरि उक्त एम्बुलेन्स चालकलाई अहिले क्वारेन्टाइनमा राखिएको छ ।
यस्तै दाङ तुलसीपुरका पनि एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्थायी ठेगाना तुलसीपुर ७ भएका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण दखिएको हो । तर, उनी हाल काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत कर्मचारी हुन् । काठमाडौंमै तीनको स्वाब संकलन गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
तुलसीपुरका ती पुरुष २० दिन पहिले मात्रै दाङबाट काठमाडौं फर्केका थिए ।