एनएलजी इन्स्योरेन्सको सहकार्यमा ३० पत्रकारको कोरोना बीमा

काठमाडौं, २ जेठ । पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरम (जनस्वयम्सेवी पत्रकार मञ्च) ले ३० जना पत्रकारको प्रति व्यक्ति एक लाख बराबरको कोरोना बीमा गराएको छ । एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका नाजिफमा आबद्ध ११ जना, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अन्तर्गत राहत वितरणमा खटिएका १४ जना र इन्स्योरेन्स खवरमा कार्यरत चार तथा फोरममा आबद्ध एक जना गरी कूल ३० जनाको बीमा गराएको हो ।
फोरमले ३० जनाको प्रतिव्यक्ति ६ सयका दरले १८ हजार २० रुपैयाँ टिकटसहितको बीमा शुल्क बुझाएर कूल ३० लाख बीमाङ्कको कोरोना बीमा गरेको फोरमका संयोजक नबराज न्यौपानेले बताए । ‘कोरोना महामारीमा फ्रन्ट लाईनमा खटिएका पत्रकारहरुको मनोबल उच्च राख्न बीमा गरिएको हो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पत्रकारहरुको पनि बीमा गरिएको छ ।’ संयोजक न्यौपाने भने, ‘आगामी दिनमा फ्रन्ट लाइनमा खटिने र राहत वितरणमा खटिएका थप २० जना पत्रकारहरुको बीमा गर्ने योजनामा छौं ।’
एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्तले पत्रकारहरुको कोरोना बीमा एनएलजी इन्स्योरेन्सबाट गर्न पाउँदा खुशी लागेको बताए । बीमा समितिको ५२औं बार्षिकोत्सवको अवसरमा एनएलजी इन्स्योरेन्सका मार्केटिङ प्रमुख अन्जन ढकालले संयोजक नबराज न्यौपानेलाई आज सो बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।