कोरोना संक्रमित भागे गोली हान्न पर्सा प्रहरीलाई अधिकार



Download our app to get more features

पर्सा, २ जेष्ठ । कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली हान्न सक्ने भएका छन् ।

संकट व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना संक्रमित व्यक्ति उपचारको क्रममा आइसोलेसनबाट फरार भए उनीहरुलाई गोली हान्न सक्ने अधिकार प्रहरीलाई दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकबाट ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’ निर्ण गरिएको छ ।

बिहीवार कोरोनाका लागि तोकिएको नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना कोरोना संक्रमित फरार भएपछि जोखिम बढ्ने खतरा भएको भन्दै यो निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने भन्दै पर्सा कोरोनाका कारण नेपालकै उच्च जोखिम मानिएकाले यस्तो निर्णय गरिएको बताए ।

जिल्लामा कोभिड–१९ का संक्रमणका शंकास्पद व्यक्ति बढ्दै गएकाले तीमध्ये स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको रुपमा पहिचान गरिएका होटलमा र अन्य सबै व्यक्तिलाई संकट व्यवस्थापन केन्द्रले तोकेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने पनि बैठकको निर्णयमा भनिएको छ ।

बैठकले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्वस्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सम्बन्धित स्थानीय तहको प्रतिनिधि रहेको कार्यदल गठन गर्ने पनि निर्णय गरेको उनले जानकारी गराए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts