जिन सिक्वेन्सिंग प्रकरणः ६ जना डाक्टरलाई स्पष्टिकरण, कारबाही भए कालोसूचीमा पर्न सक्ने



Download our app to get more features

काठमाडौं, १ जेठ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रकरणमा ६ जना डाक्टरहरुलाई स्पष्टिकरण सोधेको छ ।

परिषदले नेपालको पहिलो कोरोना संक्रमित व्यक्तिको भाइरस (जनेटिक) विदेशी संस्थालाई अनुसन्धान गर्नका लागि परिषदको अनुमति बिनै दिएको भन्दै ६ जना डाक्टरहरुलाई स्पष्टिकरण सोधेको हो ।

परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. विवेक कुमार लाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बास्तोला, प्रयोगशालाकै डा.रञ्जित साह, इडीसीडिका विज्ञ डा हेमन्तचन्द्र ओझालाई यो विषयमा लिखित स्पष्टिकरण सोधिएको बताए ।

उनले भने, ‘कुनैपनि व्यक्तिको शरीरसँग सम्बन्धीत विषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने भए नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुमति लिनुपर्ने हुन्छ । प्रावधान नै त्यहि हो । तर, उहाँहरुले अनुमति बिनै विदेशी संस्थालाई जिन सिक्वेन्स अध्ययनका लागि दिनुभएको हुनाले स्पष्टिकरण सोधिएको हो ।’

परिषदमा उजुरी परेपछि नियमित प्रक्रिया अनुसार मात्रै उहाँहरुलाई सोधपुछ गरिएको भन्दै डा. ज्ञवालीले एक साताभित्र जवाफ पेश गर्न भनिएको तर कारबाही भने नभएको स्पष्ट पारे ।

परिषदका विज्ञ डा. अञ्जनी कुमार झाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐन २०४७ बमोजिम कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धीत अनुसन्धान अध्ययन अनुसन्धान गर्दा  परिषदको पूर्वस्वीकृत लिनुपर्ने व्यवस्था रहेको बताए ।

उनले भने, ‘व्यक्तिको शरीरको अनुसन्धान गर्ने विषय गोप्य हुने भएकाले त्यससम्बन्धी अध्ययन वा अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्नुपरेमा परिषदको इथिकल कमिटिबाट अनुमति लिनुपर्ने हुन्छ । अन्यथा त्यस्ता अध्ययनलाई रद्द गर्न सकिन्छ ।’

डा.झाका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुमति बिनै गरिएको अध्ययनलाई गलत करार भन्दै रद्द गर्नका लागि सम्बन्धीत संस्थालाई सिफारिस गर्न सकिन्छ । साथै कारबाही स्वरुप अध्ययनलाई रद्द गरेर मानहानी हुने भएकाले उनीहरुलाई कालोसूचीमा समेत राख्न सकिन्छ ।

भएको के हो ?
चीनको वुहानबाट फर्केका पहिलो नेपाली कोरोना संक्रमितको अनुमति बिना नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जीन सिक्वेन्सिंग गरेकोे भन्दै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदमा उजुरी परेको छ । 

जर्नल अफ अमेरिकन सोसाइटी अफ माइक्रोबाइयोलोजीमा गत फेब्रुवरी २६ मा प्रकाशित एक अध्ययन रिपोर्टमा नेपालमा परीक्षण गरिएको नोवेल कोरोना भाइरसको जीन सिक्वेन्सिंग गरिएको उल्लेख गरिएको छ । 

सो अध्ययनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत डा. रञ्जित साह प्रमुख अध्ययनकर्ताका रुपमा रहेका छन् भने प्रयोगशालाकी प्रमुख डा.रुना झा, शुक्रराज ट्रपिकल अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे, राष्ट्यि क्षयरोग केन्द्रका डा. विवेक कुमार लाल लगायत अन्य केहि विदेशी विज्ञहरुको पनि सहभागिता रहेको छ । 
  
वुहानबाट फर्केका ३२ वर्षीय युवकमा खोकी, ज्वरो र घाँटी सुन्निएको देखिएकोले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना परीक्षण गर्दा कोरोनाभाइरस भएको प्रमाणित भएको र त्यसलाई थप पुस्टि गर्न हंगकंगमा रहेको विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको उल्लेख गरिको छ । सोहि ठाउँमा कोरोनाभाइरसको जीन सिक्वेन्सिंग गरिएको थियो ।
 
नेपालको प्रयोगशालाको वैद्यताको निम्ति यहाँ पोजेटिभ आएको नमूनामा कोरोना भाइरस रहे नरहेको जाँच गर्न विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाउनु जायज भएपनि अनुमति बिना कोरोनाभाइरसको जीन सिक्वेन्सिंग गर्नु गलत हो ।

जीन सिक्वेन्सिंग भन्नाले कुनै पनि भाइरसमा रहेको जेनेटिक तत्वको अवस्था तथा स्थिति, अन्य ठाउमा देखिएको भन्दा फरक छ कि मिल्दोजुल्दो छ भन्ने पत्ता लगाउने तरिका हो । भाइरसबारे बुझ्न यो आवश्यक भएपनि नेपालको बिरामीको नमुनामा यसरी अध्ययन गरिनुभन्दा अगाडी नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट अनुमति लिइनुपर्ने प्रावधान छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको वेबसाइटमै रहेको बारम्बार सोधिने प्रश्नोत्तरमा नेपालको नमुना अध्ययनको लागि देश बाहिर लैजादा परिषदको अनुमति लिनुपर्ने प्रस्ट उल्लेख गरिएको छ ।

Last modified on 2020-05-15 10:01:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts