मन्त्रालयको प्रेस ब्रिफिङ भोलिदेखि ३ः १५ मा



Download our app to get more features

काठमाडौं, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धीको नियमित प्रेस ब्रिफिङ भोलिदेखि ३ः १५ मा हुने भएको छ । 

मन्त्रालयको बिहीवार गरिएका प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले शुक्रवारदेखि मन्त्रालयको कोभिड–१९ सम्बन्धीको प्रेस ब्रिफिङ एक घन्टा पहिलो सवा ३ बजेबाट सुरु हुने बताएका छन् ।

यस्तै नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि बागमति र गण्डकी प्रदेश बाहेक ५ वटा प्रदेशका गरि झन्डै २८ जिल्लामा नमूना परीक्षणको दायरा पनि बढाउने तयारी भएको उनले बताए ।

साथै हवाई तथा स्थलमार्गबाट प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७ सय थान आरडिटी किट, ७ हजार थान भीटिएम र पीपीई पठाइएको पनि उनले जानकारी गराए ।

प्रवक्ता देवकोटाका अनुसार काठमाडौं उपत्यकाका फलफूल व्यापारी, ढुवानीकर्ता, विभिन्न पसल सञ्चालक, सरसफाइमा खटिएका लगायतका ३ सयको पीसीआर परीक्षण गर्ने र ७ सय भन्दा बढीका आरडिटी परीक्षण गर्ने तयारी भएको छ । जसका लागि नेपाली सेना सहितको टोली परिचालन गरिने छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट २२ हजार ६ सय ६६ नमूना परीक्षण गरिएकोमा २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै ६२ हजार ३ सय २६ आरडिटी विधिबाट संक्रमण परीक्षण गरिएको छ ।

नेपालमा हालसम्म २ सय ७२ जना आइसोलेसनमा रहेका छन् । जसमा ६ जना काठमाडौं उपत्यकामा रहेका छन् भने २ सय ६६ जना उपत्यका बाहिरका विभिन्न अस्पतालमा रहेका छन् । 

Last modified on 2020-05-14 16:42:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts