आरोग्य प्रतिष्ठानकी नर्सलाई कोरोना देखिएपछि सिल

ललितपुर, ३१ वैशाख । पुल्चोकस्थित आरोग्य प्रतिष्ठान शील गरिएको छ । प्रतिष्ठानमा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि बुधबार बिहानदेखि प्रतिष्ठान सिल गरिएको हो ।
भक्तपुरमा बस्दै आएकी २५ वर्षीया युवती केही दिनअघि मात्रै सुनसरीको झुम्काबाट काठमाडौ उपत्यका भित्रिएकी थिइन । उनलाई लिन आरोग्य प्रतिष्ठानका ड्राइभर र अर्का एक सहयोगी गएको जनाइएको छ । संक्रमित युवती भने हाल टेकु अस्पतालमा भर्ना भएकी छिन् ।
युवती बस्दै आएको मध्यपुर थिमी नगरपालिका–४ शंखधर साख्वा चोक क्षेत्रलाई पनि शील गरिएको छ । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले यो क्षेत्र शील गरेको हो । भक्तपुरमा हिजो भेटिएका दुई जना संक्रमित मध्ये २५ वर्षीया युवती आरोग्य अस्पतालका स्टाफ नर्स हुन् । सुनसरीको रामधुनी नगरपालिका झुम्काका उनी ठिमीस्थित स्टाफ नर्स साथीको डेरामा सँगै बस्दै आएको र गत २५ वैशाखमा मोटरसाइकलमा भक्तपुर आइ पुगेकी थिइन । यसैगरी भक्तपुरकै अर्का संक्रमित २७ वर्षका पुरुष सुरक्षाकर्मी हुन् । उनी सशस्त्र प्रहरी बल नीलबाराही गण दुवाकोटमा कार्यरत रहेको र पूर्वगृहमन्त्री भीम रावलको घरको सुरक्षामा खटिएको खुलेको छ ।
भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएसँगै उनीहरुको यात्रा विवरण संकलन गर्ने र सम्पर्क र संसर्गमा आएकाहरुको पहिचान गर्ने तयारी भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारि हुमकला पाण्डेले जानकारी दिइन ।