साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण, एकको मृत्यु



Download our app to get more features

काठमाडौं, ३१ वैशाख । नेपालीहरुको रोजगारीको मुख्य गन्तव्य साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

साउदी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ सय ७४ जना नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । जसमा ११ जना महिला र ६ सय ६३ जना पुरुषहरु रहेका छन् ।

मन्त्रालयका अनुसार क्षेत्रगत हिसाबले साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान लगायतमा १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भए देखि विभिन्न कारणले मृत्युभएका ३१ नेपाली नागरिकहरु मध्ये १ जनाको मात्रै कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाईएको छैन ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मंगलवार साउदी अरबका लागि नेपाली राजदूत डा.महेन्द्र प्रसाद सिंहसँग भिडियो सम्वाद गर्दै साउदी अरबमा रहेका नेपालीको बारेमा जानकारी लिएका थिए ।

मन्त्री ज्ञवालीले पछिल्लो अवस्था, नेपाली श्रमिकहरुमा संक्रमण अवस्था र प्रभाव, रोजगारी, खाना र आवासको अवस्था, श्रमिक समस्याको प्रकृति र समस्यामा परेका कामदारहरुको प्राथमिकताको आधारमा स्वदेश फिर्ति लगायतका आवश्यकताका विषयमा जानकारी लिनुका साथै आगामी दिनका लागि आवश्यक निर्देशन दिएका थिए । 

साउदी सरकारले दिएको जानकारी अनुसार साउदीमा हालसम्म कोरोनाका कारण ४२ हजारभन्दा बढीको मृत्यु भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १५ हजार २५७ जना निको भएका छन् । संक्रमित मध्ये २ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

Last modified on 2020-05-13 11:16:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts