चितवनकी ६३ वर्षीया महिलाको लगातार दुईवटा रिपोर्ट कोरोना नेगेटिभ, भोलि डिस्चार्ज गरिने



Download our app to get more features

चितवन ३० वैशाख । पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६३ वर्षीया महिलाको लगातार दुईवटा रिपोर्टमा कोरोना नेगेटिभ आएको छ ।

सोमवार र मंगलवार दुई दिन गरिएको पीसिआर परीक्षणमा उनमा कोरोना नभएको पाइएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनी समेतगरि दुई दिनको ८२ वटा रिपोर्टमा कोरोना नभएको पाइएको उनले बताए । संकलन गरिएको नमूना भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा  पीसिआर प्रविधिबाट गरिएको हो । 

ती महिलाको सोमबार र मंगलबार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उनी कोरोना भाइरसको संक्रमणबाट मुक्त भई निको भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । उनलाई बुधवार ११ बजेतिर डिस्चार्ज गर्ने तयारी भइरहेको डा. तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । डिस्चार्ज भएता पनि एक–दुई हप्ता उनी घरमा नै क्वारेन्टाइनमा बस्नुपर्ने उनले जनाए ।

यसअघि वैशाख ११ गते भरतपुर कोभिड–१९ प्रयोगशाला, १६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं, २१ गते हेटौंडा र २७ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरि ४ पटक पिसिआर प्रविधिबाट स्वाब पुनः परीक्षण गर्दा ती महिलाको चारवटै रिपोर्ट पोजेटिभ आएको थियो । 

चितवनमा रिएजेन्ट अभावमा परीक्षण रोकिएपछि बेलाबेलामा नमुना परीक्षणको लागि हेटौंडा र काठमाडौं पठाउन बाध्य भएको अस्पतालका सुचना अधिकारी पौडेलले बताए । रिएजेन्ट उपलब्ध भएपछि शनिबारदेखि चितवनमा नै नियमित रूपमा कोरोना परीक्षण हुँदै आएको छ ।

पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको समेत गरेर उनको सोमबार र मंगलबारको क्रमशः छैटौँ र सातौं रिपोर्ट हो । उनलाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेको क्याविनमा राखेर उपचार गरिएको छ । कोरोना पोजेटिभ देखिए पनि उनमा अहिलेसम्म कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनीसँगै संक्रमित देखिएका २७ वर्षीय छोराको भने दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि निको भएर उनलाई वैशाख १३ गते नै डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले जानकारी दिए ।

महिलाको वैशाख ३ गते गरिएको र्यापिड टेस्टमा शंकास्पद देखिएपछि सोहि दिनदेखि आमा-छोरालाई नै भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षण रिपोर्टको आधारमा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले उनीहरूमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । चैत ३ गते बेलायतबाट नेपाल आएका उनीहरू चैत ५ गते सार्वजनिक यातायात मार्फत काठमाडौंदेखि चितवन घरसम्म आएका थिए ।

नेपालमा कोरोना संक्रमण देखिए पनि यसले खासै असर भने दखिएको छैन । यद्यपि चिकित्सकहरूले यसलाई सामान्य रूपमा नलिन सुझायका छन् । सबैमा उच्च सतर्कता अपनाउन उनीहरूले अनुरोध समेत गरेका छन् । विश्वभर कोरोनाको कारण लाखौंले ज्यान गुमाएको अवस्था छ ।

Last modified on 2020-05-13 13:58:42

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts