प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७२ पुग्यो, सबैभन्दा धेरै पर्सामा

काठमाडौं, ३० वैशाख । प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।
बारा र पर्सामा एकै दिन ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या ७२ पुगेको हो । यसअघि प्रदेश २ मा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रदेश २ को सामाजीक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी पर्सा जिल्लामा हालसम्म ६५ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । जसमा आजमात्रै ३९ जना पुरुषहरु रहेका छन् ।
पर्सामा आज भेटिएका कोरोना संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका क्रमशः ४३, ३१, ३३, ३९, ४२, ५०, ३५, २८, १६, २०, ३५, ४५, ४०, ४१, ४४, ५३ वर्ष उमेर समूहका हुन् । यस्तै पर्साकै इर्नवाका ४०, १२, २०, ४२, १९, ३० वर्ष उमेर समूहका पुरुषहरु हुन् भने घुसुकपुरका २५, नगवा ३२, २६ र छिपहरमाईका उमेर नखुलेको १४ जना पुरुषहरु रहेका छन् । यस्तै बारामा आज एक जना पुरुषमा कोरोना पुष्टि भएपनि उनको उमेर खुलेको छैन । बारामा योसँगै ३ जनामा कोरोना पुष्टि भएको छ भने रौतहटमा २, सर्लाही र सप्तरीमा एक एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए ।
संक्रमित मध्ये अधिकांश भारतबाट लुकिछिपी नेपाल आएको र केहि स्थानीय नै रहेको पनि उनले बताए । कन्ट्र्याक्ट ट्रेसिंगको क्रममा र क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।