बिरामीसँग मनपरी शुल्क लिएको भन्दै नर्भिक र मनमोहनलाई विभागको पत्र

काठमाडौं, ३० वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको नर्भिक अस्पताल सहित तीन अस्पताललाई पत्र काटेको छ ।
विभागको नियमित अनुगमनको क्रममा काठमाडौंको नर्भिक अस्पताल, स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेज एवं शिक्षण अस्पताललाई सरकारले तोकेको भन्दा ५० प्रतिशत बढी शुल्क लिएर बिरामीको जाँच गर्ने गरेको पाइएको छ ।
विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले हाम्रो डाक्टर न्यूजलाई दिएको जानकारी अनुसार गुनासो आएपछि नर्भिक अस्पतालको अनुगमन गर्न जाँदा सरकारले तोकेको ओपीडी शुल्कभन्दा ५० प्रतिशत बढी शुल्क लिने गरेको पाइएको हो ।
स्वास्थ्य विज्ञ, स्वास्थ्य सेवा विभागको प्रतिनिधि र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बिरामीसँग चर्को शुल्क असुलेको भन्दै जानकारी सहितको कागजात लिएर उपस्थित हुन भनिएको सुवेदीले बताए ।
महानिर्देशक सुवेदीले अत्यावश्यक सेवा र महामारीको बेला कुनैपनि बिरामीलाई समस्या नहोस् भनेर झन् सहज रुपले सेवा प्रदान गर्नुपर्नेमा पछिल्लो समय विभिन्न अस्पतालले मनपरि सेवा शुल्क लिन थालेको गुनासो बढेपछि अनुगमन गरिएको बताए ।
उनले काठमाडौंकै मनमोहन मेमोरियल अस्पतालमा पनि बिरामीसँग बढी शुल्क लिएको विषयमा अनुगमन गरिएको र विराटनगरको नोवेल मेडिकल कलेजले लकडाउनको बेला बिरामी भर्ना नगरेको विषयमा पनि विभागले अनुमगन गरेर आवश्यक कारबाहीको लागि प्रक्रिया अघि बढाएको जानकारी दिए ।
नर्भिक र नोवेल अस्पताल बारम्बार विवादमा पर्दै आएका कारण पनि गुनासो बढेको भन्दै उनले नर्भिकको हकमा भने स्वास्थ्य सेवा विभागले आफै आवश्यक अनुगमन गरेर कारबाही गर्ने बताए ।
उनले भने, ‘विभागको तर्फबाट पनि अनुगमन टोलीमा प्रतिनिधि सहभागि भएका थिए । तर, तपाईंहरु पत्र मात्रै पठाउनुस् अरु कारबाही हामी गर्छौ भन्ने खालको प्रतिक्रिया स्वास्थ्य सेवा विभागले दिएपछि हामीले पत्र मात्रै पठाएको हौं । अब के हुन्छ भन्ने विषयमा हेर्न बाँकी छ ।’
नर्भिकको हकमा त्यहाँका सञ्चार प्रमुख आरपी मैनालीलाई बिहान १० बजे फोन गरेर सोध्दा उनले आफूलाई यो विषयमा हालसम्म जानकारी नभएको र कार्यालय पुगेर बुझेर मात्रै बोल्ने हाम्रो डाक्टर न्यूजलाई प्रतिक्रिया दिएका छन् ।