काठमाडौं कोरोना भाइरस सङ्क्रमणको ‘उच्च जोखिम’ मा, व्यापक परीक्षण गरिने

बीबीसी, ३० वैशाख । सरकारले सीमित कर्मचारीहरूको भरमा विभिन्न कार्यालयहरू चलाउन पाइने निर्णय गर्दै त्यसका लागि सवारी आवागमनको अनुमति दियो । लकडाउन केही खुकुलो पारेर केही सवारीसाधन सञ्चालन गर्न दिइएको पहिलो दिन आइतवार सडकमा आवागमन अचानक बाक्लियो ।
ट्राफिक प्रहरी अधिकारीहरूका अनुसार कम प्राथमिकताका कामका लागि पनि मानिसहरू बाहिर निस्किन थालेका छन् ।
के काठमाडौं उपत्यका जोखिमबाट मुक्त भएको हो त ? देशका विभिन्न स्थानमा कोभिड–१९ भएका व्यक्ति पत्ता लागिरहेको बेला काठमाडौं सुरक्षित नभएको विज्ञहरूको भनाइ छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार काठमाडौं उपत्यका उच्च जोखिमको सूचीमा छ ।
सरकारले आन्तरिक रूपमा रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ ।
श्रेष्ठ भन्छन्, “काठमाण्डू अहिले पनि रेड जोनमा छ ।”
जनसङ्ख्याको अनुपातमा काठमाडौं उपत्यकामा सङ्क्रमण निकै कममा देखिएको छ । तर, मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले उपत्यकालाई उच्च जोखिममा राखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
त्यसैले सार्वजनिक सवारी साधन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द नै रहनेछन् ।
काठमाडौं उपत्यकामा बाहिरबाट मानिसहरू नआऊन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन् ।
परीक्षण बढाइँदै
अधिकारीहरूका अनुसार जोखिमपूर्ण ठाउँबाट आएका, सम्भावित सङ्क्रमितहरूको सम्पर्कमा रहेका र सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिबाहेक अन्यलाई परीक्षणको दायरामा ल्याइएको थिएन ।
यसअघि ज्वरो आएका र खोकी लागेका कतिपय बिरामीहरूको पनि कोरोनाभाइरस परीक्षण नगरिएको समाचारहरू आएका थिए ।
परीक्षण सामग्रीको अभावले जनसङ्ख्याको तुलनामा परीक्षण निकै कम गरिएको बताइने गरेको थियो । उक्त विषय उच्च तहको छलफलमा पनि उठेको बताइएको छ । तर, महानिर्देशक श्रेष्ठ भन्छन्, “ज्वरो आएका र खोकी लागेकाहरूको परीक्षण गर्छौँ, अब परीक्षणको दायरा बढाउँदैछौं ।”
अब कसको परीक्षण हुन्छ ?
उनका अनुसार लकडाउनका बेला पनि बढी मानिसको सम्पर्कमा रहेका, राहत वितरणमा संलग्न, बिरामीको परीक्षण र उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, फोहरमैला व्यवस्थापनमा काम गरेका, विदेशबाट आएका र शङ्कास्पद सबै व्यक्तिको परीक्षण गरिनेछ ।
स्वास्थ्य मन्त्रालयका अनुसार स्विस तथा चीन सरकारले उपलब्ध गराएका ३०–३० हजार तथा नेपाल सरकारले किनेका ४० हजार गरी कुल एक लाख किट पीसीआर परीक्षणको निम्ति उपलब्ध छन् ।
त्यसले परीक्षणको दायरा थप बढाउन सहज हुने अधिकारीहरूको विश्वास छ । तर दशौँ लाख जनसङ्ख्या रहेको र लकडाउन केही खुकुलो बनाइएकाले काठमाडौं उपत्यकामा जोखिम पनि उत्तिकै रहेको अधिकारीहरूको ठम्याइ छ ।
सरकारले लिएको लचिलो नीतिका कारण अनावश्यक रूपमा सम्पर्कमा जाने र हिँड्न नहुने उनीहरूको सुझाव छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ भन्छन्, “आवागमन निकै बाक्लो छ । त्यसैले ५०– सय जनालाई रोग सारेर एक जना ‘सुपर स्प्रेडर’ बन्यो र अरूले पाँच–पाँच जनालाई नै सारे भने अवस्था जटिल बन्न सक्छ ।”
“हामीलाई त्यसको खतरा छ । परीक्षणले ठूलो जोखिम नदेखाए पनि सतर्क रहन आवश्यक छ ।”
चीनबाट थप सामग्री आउँदै
नेपाली सेनाले चीनबाट पनि झन्डै साढे ३७ टन स्वास्थ्य सामग्री र उपकरणहरू सडक मार्गबाट ल्याउँदैछ ।
जीटुजी विधिबाट ल्याउन खरिद गरिएका ती सामानको पहिलो खेप गोन्जाओबाट स्थलमार्ग हुँदै वैशाख २२ गते नेपालतर्फ पठाइएको हो ।
झन्डै पाँच टन सामान सम्भवतः बुधवारसम्म आइपुग्ने नेपाली सेनाले जनाएको छ ।
त्यसपछि २४, २६ र २८ गते सामान पठाइएको र दुई दिनको अन्तरालमा ती सामान नेपाल आइपुग्ने बताइएको छ ।
विमानबाट पनि यो साताभित्र सामग्री ल्याउने तयारी रहेको सैनिक प्रवक्ता सहायकरथी विज्ञान देव पाण्डेले जानकारी दिए ।
सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा त्यसपछि हालका निम्ति सबै खाले स्वास्थ्य सामान र उपकरणहरू पर्याप्त हुने बताइएको छ ।