कोरोना जोखिम बढेपछि ५ जेठसम्म कपिलवस्तु शील



Download our app to get more features

रुपन्देही, २८ वैशाख । जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई आगामी ५ जेठसम्म शील गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय भएको हो ।

२९ वैशाख साँझ ५ बजेदेखि ५ जेठ राती १२ बजेसम्म जिल्ला शिल गर्ने निर्णय भएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमित भेटिइसकेका छन् । आज सोमबार मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा–८ जना र बुद्धभूमि नगरपालिकामा–२ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।
कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकास्थित अनिरुद्ध माध्यमिक विद्यालयमा ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा एक जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् ।

यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए । कपिलवस्तुको भारतीय सीमातर्फ आइबारसम्ममा १९ सय भन्दा बढी व्यक्ति अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनको भनाई छ । त्यसमध्ये ती व्यक्तिहरु आइतबार राती नेपाल प्रवेश गरेको स्थानीयबासी बताउँछन् ।
 

Last modified on 2020-05-11 16:14:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts