विश्वका यी मुलुक जहाँ लकडाउनमा छुट दिनासाथ तीव्र गतिमा बढ्न थाल्यो कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, २९ वैशाख । भारतमा एकै दिन हालसम्मकै धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा चार हजार दुई सय १३ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६७ हजार १ सय ५२ पुगेको छ । भारत सरकारले लकडाउन खुकुलो पारसँगै त्यहाँ कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ । स्वास्थ्य मंत्रालयले संक्रमित भएका मध्ये २० हजार नौ सय १६ जना स्वस्थ भएको जनाएको छ । यस्तै कोभिड–१९ का कारण भारतमा हालसम्म २२ सय ६ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी एसियामा भारत पछिल्लो समय चीनपछिको दोस्रो कोरोना प्रभावित मुलुक बन्दै गएको छ । 

कोरोना देखिएपछि चीनको शुलान शहर लकडाउन
कोरोना भाइरसको संक्रमण बढेसँगै चीनको अर्को शहर शुलानमा लकडाउन घोषणा गरिएको छ । शुलानमा कोरोना भाइरसका ११ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएपछि त्यहाँ सावधानी अपनाउँदै लकडाउनको घोषणा गरिएको हो । उनीहरुमा एक जना लुगा धुने महिलाबाट कोरोना संक्रमण भएको चीन सरकारले जनाएको छ । यससँगै चीनले शुलान सहरको सबै सार्वजनिक स्थान बन्द गर्ने निर्णय गरेको छ भने स्थानीय प्रशासनले सबैलाई आफ्नो घरमा नै बस्न अनुरोध गरेको छ । साथै सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ । शुलान सहर रुससँग सीमा जोडिएको हेइलोङजियाङको सीमामा पर्छ । जहाँ पछिल्लो समय रुसबाट आउने मानिसहरुमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ ।

लकडाउन खुकुलो पारेसँगै पाकिस्तानमा १० हजा नयाँ कोरोना संक्रमित
पाकिस्तानमा लकडाउनमा छुट दिइएसँगै १० हजार नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पाकिस्तान सरकारले मुलुमा जारी गरेको बन्दाबन्दीमा छुट दिँदै देशमा सबै मस्जिदहरु खोल्नुका साथै आर्थिक गतिविधि गर्न अनुमति दिएसँगै त्यहाँ १० हजार नयाँ कोरोना संक्रमित फेला परका हुन् । योसँगै पाकिस्तानमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३० हजार नाघेको छ भने ६ सय ६०  जनाभन्दा बढीको मृत्यु भएको छ । जबकी गत साता बन्दाबन्दी लागू भएको बेला पाकिस्तानमा जम्मा २ सय जनाको मृत्यु भएको दियो भने संक्रमितको संख्या २० हजार थियो । विज्ञहरुको चेतावनीका बाबजुद पाकिस्तान सरकारले बन्दाबन्दीमा छुट दिँदै देशका सबै मस्जिद, स्थानीय बजार, शपिङ्ग माल, लुगा पसलहरु खोल्न अनुमति दिएको हो । 

जर्मनीमा पनि बढ्े संक्रमित
जर्मनीमा पनि लकडाउनमा छुट दिनासाथ फेरि कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक हजारको दरले बढ्न थालेको छ । जर्मनी सरकारले कोरोना भाइरसको महामारीलाई ध्यानमा राखेर गरेको लकडाउनमा छुट दिइएको एकदिनमै कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको हो । जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूटका अनुसार जर्मनीमा लकडाउनमा छुट दिएपछि री–प्रोडक्शन दर बढेको छ । जसका कारण त्यहाँको अवस्था बिग्रिन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जर्मनीका चान्सलर एंगेला मर्केलले गत बुधवार १६ राज्यका प्रमुखसँग करा गर्दै देशव्यापी लकडाउनमा व्यापक छुट दिने घोषणा गरेकी थिइन् । संक्रमणको हिसाबले जर्मनी विश्वको सातौं प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसका कारण एक लाख ७१ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने सात हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोनाबाट धेरै ज्यान गुमाउनेमा रुस पाँचौ स्थानमा
कोरोना भाइरसका कारण संक्रमित हुनेमा विश्वकै पाँचौ स्थानमा रहेको रूसमा लगातार सातौं दिन दश हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा रूसमा कोरोना भाइरसका कारण ११ हजार १२ जना संक्रमित भएका छन् । योसँगै रूसमा  कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ९ हजार ६ सयभन्दा बढी पुगेको छ । रूसमा गत एक सातादेखि निरन्तर १० हजारका दरले नयाँ कोरोना संक्रमित फेला पर्न थालेका छन् । यस्तै कोरोना भाइरसका कारण रूसमा २९ सय १५ जनाको मृत्यु भएको छ । रूसमा सरकारले गरेको लकडाउनमा छुट दिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।

यस्तै इरानमा पनि लकडाउनमा छुट दिइएसँगै कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ । इरान सरकारले मुलुकमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या २ हजारका दरले बढ्न थालेपछि हटाइएको बन्दाबन्दीलाई फेरि जारी गरको छ । इरान सरकारले मुलुकमा कोरोना भाइरसको महामारी नियन्त्रण हुन थालेको भन्दै जारी लकडाउनमा छुट दिएको साता दिनमै त्यहाँ कोरोना संक्रमितको संख्या २ देखि ३ हजारका दरले बढेको हो । हालसम्म कोरोना भाइरसका कारण इरानमा संक्रमित हुनेको संख्या १ लाख ६ हजार नाघेको छ भने ६ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

तत्कालन लकडाउन नहटाउन विश्व स्वास्थ्य संगठनको चेतावनी
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठनले पटक पटक चेतावनी दिँदै लकडाउन तत्कालै नहटाउन र छुट नदिन आग्रह गर्दै आएको छ । संगठनले लकडाउनमा तत्कालै छुट दिँदा त्यसले महामारीको दोस्रो चरण सुरु हुने भन्दै विशेष सावधानी अपनाउन पनि अपिल गरेको छ । कोरोना भाइरसको जोखिमलाई लिएर विभिन्न मुलुकले गरेको लकडाउनको विरोधपनि विभिन्न मुलुकमा त्यहाँका नागरिकहरुले गर्दै आएका छन् । जसका कारणपनि कोरोना संक्रमितको संख्या बढ्ने गरेको छ ।

 

Last modified on 2020-05-11 13:59:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts