नेपालमा कोरोना भाइरस अपडेट : ३१ जना उपचारपछि घर फर्किए, ७९ जना उपचाररत
काठमाडौं, २८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले नेपालका कुल ११० कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये ३१ जना उपचारपछि घर फर्किसकेको बताएका छन् । अस्पतालमा उपचाररत ७९ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनको भनाइ छ ।
कोरोना भाइरस बारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा उनले हालसम्म प्रयोगशाला परीक्षणमा पिसिआर विधिबाट १६ हजार आठ सय ९८ नमूना परीक्षण गरिसकेको जानकारी पनि दिए । यस्तै आरडिटि विधिमार्फत ५६ हजार ६ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रयोगशाला विधिबाट १३ सय १६ नमूना परीक्षण गरेको पनि उनको भनाइ ।
डा. देवकोटाका अनुसार हाल देशभरका क्वारेन्टाइनमा १३ हजार ६ सय २६ जना छन् । यस्तै कोरोना भाइरस सम्भावित संक्रमणको आशंकामा देशभरका आइसोलेसनमा एक सय ६४ छन् । काठमाडौं उपत्यकामा तीन जना र बाँकी एक सय ६१ जना उपत्यका बाहिर छन् ।