बुटवल उपमहानगर कोरोनासँगै डेंगु विरुद्धको अभियानमा



Download our app to get more features

रुपन्देही, २७ वैशाख । बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै डेंगु रोगको विरुद्धको अभियान सुरु भएको छ । 

बुटवल उप महानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगु रोगको महामारीका विरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रीत हुन निर्देशन दिएको छ । 

कोराना महामारीसँगै डेंगुको महामारीको जोखिम समेत बढेको भन्दै समुदाय स्तरमा सुरक्षित तरिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । महामारीका बेलामा टोलटोलमा गरिएका राहत वितरण र सचेतनाका अभियानमा खटिएकाहरुलाई नै अब डेंगु रोगका बारेमा पनि सचेत गराउन लगाउने छ ।

उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यसमातहका समुदाय स्तरका संयन्त्रलाई महामारीबाट जोगिने उपाय अबलम्बन गर्दै डेंगु रोगका विरुद्धको अभियानमा सामेल गराउने तयारी भएको प्रमुख शिवराज सुवेदीले जानकारी गराए । 

महामारीका बेलामा विशेष काम गरिरहेको स्थानीय विपद् व्यवस्थापन समिति र त्यस मातहतको क्रायसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी) ले समेत यो अभियानमा पैरवी गर्ने छ । महामारीका असर, प्रभाव र त्यसबाट जोगिने उपायका बारेमा सचेतनाका काम भइरहेकाले अब त्यसैमार्फत डेंगू रोगका विरुद्ध पनि विशेष अभियान चलाउन सकिने छ ।  

लामखुट्टेको वासस्थान खाजी गरी लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ कार्यक्रम सञ्चालन गरिने छ । यसखालका लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचानका लागि स्वास्थ्य क्षेत्रका प्राविधिकलाई खटाउने र त्यसैका आधारमा खोज र नष्ट गर अभियान चलाइने प्रमुख सुवेदीको भनाइ छ ।

डेंगु रोग नियन्त्रण र रोकथामका लागि समुदायस्तरमा सचेतना जगाउन विभिन्न संयन्त्रलाई परिचालन गरिने बताउँदै प्रमुख सुवेदीले महिला स्वास्थ्य स्वयमसेविका, टोलविकास संस्था, राजनीतिक दल, नागरिक अगुवा तथा आमसञ्चारकर्मीको सहकार्यमा नै अभियान प्रभावकारी बनाइने बताए । 

अहिले केही दिन यता लगातार पानी परिरहेको छ । महामारीको रोकथामका लागि झण्डै दुई महिनादेखि बन्दाबन्दी (लकडाउन) छ । यो बेलामा ग्यारेजलगायतका क्षेत्र बन्द हुँदा धेरै ठाउँमा पानी जम्ने अवस्था छ । त्यसखालका लामखुट्टेका लागि अहिले अण्डा पार्न उपयुक्त समय देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । यहीँ बेलामा खोज र नष्ट गर अभियान सञ्चालन गर्दा प्रभावकारी हुनसक्छ । 

बुटवलमा रहेको १९ वटा वडा मध्ये डेंगू रोग लगाउन सक्ने लामखुट्टेको उपयुक्त बासस्थान रहेका क्षेत्रको खोजी गरेर त्यहीँबाट लार्भा नष्ट गर्ने अभियान सञ्चालनको तयारी भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

जोखिमका क्षेत्र निर्धारण र डेंगू सार्ने लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचान तथा जनवास्थ्यका सेवालाई प्रभावकारी बनाउनका लागि उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वको स्वस्थ्यकर्मी तथा प्राविधिकको टोलीलाई निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

सिंह नेतृत्वको टोलीले सरोकारवालासंगको सहकार्यमा प्राविधिक परिचालन गर्ने छ र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्यचौकीहरुलाई तयारी अवस्थामा राख्ने छ । हालको महामारी रोकथामका लागि यहाँका स्वास्थ्य संस्थामा फिवर क्लिनिक सञ्चालन गरिएको छ भने दीर्घरोगीलाई घरघरमै औषधि पु¥याउनुका साथै स्वास्थ्यकर्मीलाई हटलाइन सेवामा खटाइएको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts