स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन सेन्टर निर्माण

रुपन्देही, २७ वैशाख । मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सक्रियतामा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो ।
स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नम्बर २ को कार्यालयमा स्थान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगरप्रमुख बासुदेव घिमिरेले वताए । आइसोलेसन सेन्टरको लागि एक जना चिकित्सक र एक जना नर्स नियुक्त गरिएको छ ।
बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शको आधारमा आइसोलेसन सेन्टर निर्माण गरिएको स्वास्थ्य चौकी इञ्चार्ज केशव भट्टराईले वताए । १० बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेअनुसार कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनले बताए ।
तत्काल १० बेड तयार गरिए पनि आवश्यकताको आधारमा थप १० बेड विस्तार गर्न सकिने उनले जानकारी दिए । सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित बिरामीको उपचार गर्न सकिन्छ । सेन्टरमा बिरामीलाई २४सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीको व्यवस्थापन हुने चिकित्सक संयोजक पाठकले वताए । तिलोत्तमा नगरपालिकाले आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ । हाल नगरक्षेत्रका दश स्वास्थ्य संस्थामा ८० जना कर्मचारी कार्यरत छन् । बुटवल कोरोना अस्पतालले पठाएका जुनसुकै ठाउँका बिरामीलाई सेन्टरमा राखेर उपचार गरिने डा. पाठकले वताए ।
उनका अनुसार सेन्टरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनाल, कोरोना फोकल पर्सन डा. सुदर्शन थापा र मेट्रोनको सल्लाह सुझावको आधारमा काम भैरहेको छ । नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको अन्त्य भैसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गरेर लैजाने गरी तयारी भैरहेको जानकारी दिए ।
अहिले थप गरिएका मेडिकल उपकरण तथा भौतिक पूर्वाधारले अस्पताल सञ्चालनमा सहजता ल्याउनेछ । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारी अन्तर्गत् शकरनगरमै क्वारेन्टाइन सञ्चालन गरिरहेको छ । हालसम्म क्वारेन्टाइनबाट ९९ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।