प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३० पुग्यो



Download our app to get more features

रुपन्देही, २७ वैशाख । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका अनुसार बाँकेमा २४, रुपन्देहीमा १ र कपिलवस्तुमा ५ गरि कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।

स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरीका अनुसार आज कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी उच्च माध्यमिक विद्यालय पकडी स्थित क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट आउँदा ५ जनामा कोरोना पुष्टि भएको र अन्यमा कोरोना नभएको पुष्टि भएको हो ।

मायादेवी गाउँपालिका वडा नं. २ का २ जना १६ र २२ वर्षका पुरुषहरुमा २५ गते बिहीवार कोरोना पुष्टि भएको थियो भने आज थप ३ जनामा कोरोना पुष्टि भएको हो । पोजिटिभ देखिएका ५ जनै युवाहरु भारतको मुम्बईबाट नेपाल आएको डा गिरीले बताए ।

२ जनालाई शुक्रवार बिहान बुटबलको कोरोना विशेष अस्पताल ल्याईएको छ भने आज संक्रमण पुष्टि भएका ३ जनालाई पनि बुटवल ल्याउने तयारी भईरहेको निर्देशक डा गिरीले बताए ।

२३ गते मंगलवार राती १० बजे ती युवाहरु मायादेवी गाउँपालिका वडा नं. ८ हरिवंशापुर र चकारचौडाको खेत बाटो हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेपछि गाउँलेको सहयोगमा घर जान रोकर बाटोमा खाना खुवाएर पकडी स्थित क्वारेन्टाईनमा पठाईएको वडा अध्यक्ष सर्फुदिन मुसालमानले बताए ।

क्वारेन्टाईनमा राखेको भोली पल्ट पकडी स्थित क्वारेन्टाईनमा रहेको ६५ जनाको स्वाब संकलन गरि राष्ट्रिय प्रयोगशाला टेकु पठाईएको थियो । टेकु पठाईएको ६५ जना सबैको रिपोर्ट आउदाँ ५ जनामा पोजिटिभ देखिएको हो ।

पोजिटिभ आएको पाँचै जना भारतको मुम्बईमासँगै काम गर्ने गरेको पाइएको छ । संक्रमित पाँचै जनाको सम्पर्क र संसर्गमा आएकाहरुको खोजी सुरु गरिने डा गिरीले जानकारी दिए ।  

यस्तै स्वास्थ्य निर्देशक डा. गिरीले बुटबलको कोरोना अस्थायी अस्पतालमा बेड थप गर्ने बताएका छन् । उनले अहिले ५० शय्या रहेको अस्पतालमा छलफल गरेर १ सय शय्या थप गर्ने र आवश्यक परे २ सयसम्म पुर्यउने बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts