रिएजेन्ट अभावमा एक सातादेखि रोकिएको चितवनको कोरोना परीक्षण पुनः सञ्चालन



Download our app to get more features

चितवन, २७ वैशाख । रिएजेन्ट अभावमा रोकिएको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला आजदेखि पुनः सञ्चालनमा आएको छ । शनिबार बिहान रिएजेन्ट उपलब्ध भएपछि प्रयोगशाला पुनः सञ्चालनमा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

भरतपुर–१० स्थित वाईपास रोडमा रहेको सो प्रयोगशालामा पिसिआर परीक्षण गर्ने रिएजेन्ट अभावमा एक सातादेखि कोरोना परीक्षण रोकिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । अहिले स्वास्थ्य मन्त्रालयबाट करिब १३ सय नमुना परीक्षण गर्न पुग्ने रिएजेन्ट उपलब्ध भएको उनले बताए । स्वास्थ्य मन्त्रालयसँग माग गरिए जति रिएजेन्ट उपलब्ध नभएकाले परीक्षण रोकिएको उनले बताए । चितवनमा परीक्षण रोकिएपछि नमुना परीक्षणको लागि हेटौंडा र काठमाडौं पठाईदै आएको थियो ।

चितवनमा २३ चैतमा औपचारिक रूपमा भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला शुभारम्भ भए पनि २४ चैतदेखि नियमित रूपमा परीक्षण भएको थियो । यसअघि पनि रिएजेन्टको अभावकै कारण  कोरोना परीक्षण रोकिदै आएको छ । अहिले यो प्रयोगशाला भरतपुर अस्पताल मातहत सञ्चालनमा छ ।

रिएजेन्टको अभावमा अहिले देशका विभिन्न भागमा रहेका कोरोना प्रयोगशालामा परीक्षण प्रभावित हुदै आएका छन् । शनिबारदेखि पुनः सञ्चालनमा आएको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार संकलन भएका २५ वटा र आज संकलन भएका २१ वटा नमुना परीक्षणको काम भैरहेको प्रयोगशाला स्रोतले जनाएको छ ।

Last modified on 2020-05-10 14:47:56

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts