म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण, सचेत रहन आग्रह

म्याग्दी, २७ वैशाख । म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।
बेनी अस्पतालमा उपचारका लागि आएका बेनी नगरपालिका–५ पुलाचौर, भिरमुनिका २५ वर्षीय र वडा नं. ६ स्थित छापका २० वर्षीय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार संक्रमित सामान्य बिरामी मध्ये एक जनालाई चिकित्सको सल्लाहअनुसार घर पठाइएको छ भने एक जनालाई अस्पताल मै भर्ना गरिएको छ ।
योसँगै म्याग्दीमा डेङ्गु रोगीका बिरामीको संख्या ९ पुगेको छ । नौै जना डेङ्गु संक्रमित बिरामी मध्ये बूधबार भर्ना भएका एक जना सहित तीन जना मात्र अस्पतालमा उपचाररत छन् । अन्य उपचारपछि निको भएर घर फर्किएको सुचना अधिकारी सुवेदीले जानकारी दिए ।
डेङ्गुको जोखिमबाट बच्न सावधानी र सतर्कता अपनाउनुपर्ने बेनी अस्पतालका क्लिनिकल प्रमुख डा.नवराज बास्ताकोटीले बताए ।
वर्षा र गर्मी मौसमको समयमा लामखुट्टे सक्रिय हुने भएकाले विशेष सरसफाईमा ध्यान दिनुपर्ने डा.बस्ताकोटीको सुझाव छ ।
बेनी बजारको गणेशटोल, मंगलाघाट, बसपार्क ,कालिपुल ,पारीबेनी र पुलाचौर स्थित भिरमुनीलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो ।यसैगरी म्याग्दीमा डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान चलाइएको छ ।