स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था ऐन परिमार्जनसहित कार्यान्वयनमा ल्याउन चिकित्सक संघको माग

काठमाडौं, २६ वैशाख । नेपाल चिकित्सक संघ (एनएमए) ले सरकारले कोरोनाविरुद्धको लडाईंमा अग्रस्थानमा रहेका प्रति दीप प्रज्वलन गरेर सम्मान गरेकोमा आभार व्यक्त गरेको छ ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले २५६४औँ बुद्धजयन्तीका अवसरमा विश्व शान्तिको कामना गर्दै २५ वैशाखमा कोरोना महामारीविरुद्धको लडाईंको अग्रस्थानमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति उच्च सम्मान तथा सक्रमितको शीघ्र स्वास्थ्य लाभ र मृत्युवरण गरेकाहरुको आत्माको चीरशान्तिको कामनाका लागि दीप प्रज्ज्वलन गर्न आग्रह गरेको थियो ।
२२ चैतको मन्त्रीपरिषद्ले गरेको निर्णयअनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्नेहरुप्रति डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई सरह कारवाही गर्ने निर्णय गरिएको थियो । यस्तै हाल मन्त्रीपरिषद्मा बिचाराधिन रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन ०६६ र नियमावली ०६९ लाई परिमार्जन गरी कानूनी व्यवस्था मिलाई स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल उच्च पार्न पनि संघले सरकारसँग माग गरेको छ ।