बजेट अधिवेशन सुरु हुनु अगावै सांसदहरुको कोरोना परीक्षणको रिपोर्ट आउने

कोशी अस्पतालबाट थप ८ जना डिस्चार्ज



Download our app to get more features

काठमाडौं, २६ वैशाख । संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारले संसद अधिवेशन बोलाउने तयारी गरे अनुसार सांसद, मर्यादापालक र अन्य सरोकारवालाको बिहीवारदेखि कोरोना परीक्षणका लागि सुरु गरेको स्वाब संकलनको काम आज सकिएको छ ।

संघीय संसदका सचिव गोपालनाथ योगीले संसद बैठक सुरु हुनु अगावै सबैको रिपोर्ट आउने र त्यसपछि मात्रै संसद भवनमा सांसदहरुले प्रवेश गर्न पाउने बताएका छन् । उनले संसद बैठकमा सहभागि हुन आउने सांसदहरुको मूल गेटमै ज्वरो नाप्ने, कोरोना परीक्षणको रिपोर्ट देखाउनुपर्ने, प्रत्येक माननीयहरुबीच ३ फिटको दूरी कायम गरि बस्ने व्यवस्था गरिएको, सबै माननीयको टेबुलमा स्यानिटाइजरको व्यवस्था गरिएको र मास्क सबैलाई अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको पनि बताए ।

कोरोना भाइरसको संक्रमणकाबीच सुरु हुन लागेको संसदको बजेट अधिवेशनका लागि विशेष सावधानी अपनाउँदै संसदमा सहभागि हुन आउनेलाई साँचो, डटपेन, छाता लगायतका सामानपनि प्रवेशमा निषेध गरिएको पनि उनले बताए । 

उता कोरोनाको हटस्पट बनेको नेपालगञ्जमा भने कोरोना संक्रमितको संसर्ग र सम्पर्कमा आएकामध्ये झन्डै ३४ जनाको रिपोर्टमा कोरोना नभएको पुष्टि भएको छ । 

एउटै टोलका २३ जनामा कोरोना संक्रमण भेटिएको बाँकेको नेपालगञ्जमा संक्रमितको सम्पर्कमा रहेका व्यक्ति मध्ये थप ३४ जनाको स्वाब परीक्षणको रिपोर्टमा कोरोना नभएको पुष्टि भेरी अस्पतालले जनाएको छ ।

यसैबीच नेपालगञ्जमा जारी गरिएको निषेधाज्ञा आजबाट ४ घन्टाका लागि खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अत्यावश्यक सामान खरिदका लागि ४ घन्टासम्म छुट दिइने बताए ।

विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जनालाई आज डिस्चार्ज गरिएको छ । कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका मध्ये ८ जना कोरोना संक्रमितको पछिल्लो ३ पटकको रिपोर्टमा कोरोना नदेखिएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. संगिता मिश्रले हाम्रो डाक्टरन्यूजलाई बताईन् ।

एक महिलासहित आठ जनालाई आज १० बजेपछि डिस्चार्ज गरिएको र उनीहरुलाई थप दुई साता समुदायमा घुलमिल नगर्न र चिकित्सकको सम्पर्कमा रहन भनिएको पनि उलने बताइन् ।

यसअघि ६ जनालाई गत बुधवार नै डिस्चार्ज गरिएको थियो । योसँगै कोशी अस्पतालबाट १४ जना डिस्चार्ज भइसकेका छन् । उदयपुरका २८ जना, भोजपुरका १ जना र झापाका २ जना गरित कोशी अस्पतालमा ३१ जना उपचाररत थिए । अब १७ जना मात्रै कोरोको उपचार गराइरहेका छन् र उनीहरुको स्वास्थ्य अवस्थापनि सामान्य रहेको डा.मिश्रको भनाइ छ ।

यसैबीच कपिलवस्तुमा भेटिएका दुवै जना कोराना संक्रमितलाई उपचारका लागि बुटवल पठाइएको छ । 

Last modified on 2020-05-08 10:29:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts