किट सकिएपछि धनगढी प्रयोगशालामा रोकियो कोरोना परीक्षण

धनगढी, २५ वैशाख । किटको मौज्दात सकिएपछि धनगढी प्रयोगशालामा कोरोना परीक्षण रोकिएको छ ।
धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण बन्द भएको हो ।
बुधवार चार जनाको परीक्षण भएकोमा किटको मौज्दात सकिएपछि बिहीवार परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ । पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक हुने गरेको छ ।
पीसीआर किटको मौज्दात भएपनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ । अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको छ ।
किट नभएपछि थ्रोट स्वाब संकलन गरिएका ५० बढीको अहिलेसम्म नमूना परीक्षण गर्न सकिएको छैन । धनगढीमा प्रयोगशाला स्थापना भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउन बन्द गरिएको थियो ।
किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका तीन जना बिरामीको पुनः परीक्षण समेत गर्न सकिएको छैन् ।
काठमाडौं र वीरगञ्जमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएको अवस्थामा धनगढीमा निको भएका संक्रमितको पुनः परीक्षण हुन नसक्दा जोखिम बढेको छ ।
किट अभाव संकलिनत नमूनाको समेत परीक्षण रोकिएपछि शंकास्पदको नमूना संकलन समेत अहिलेलाई बन्द गरिएको छ ।
यता सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि किटको मौज्दात सकिएको बताउँदै भोली सम्म संघीय सरकारले पठाउने जानकारी आएको बताए ।
उनका अनुसार भोली संघीय स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशका लागि तीन सय किट पठाउने तयारी गरेको छ । यसअघि सुदूरपश्चिम प्रदेशमा स्वाब राख्ने भाडो भीटीएमको अभाव हुँदा परीक्षण प्रभावित भएको थियो ।