पर्सामा एकैदिन १७ जनामा कोरोना पुष्टि, २ महिनाको बच्चामा पनि कोरोना

काठमाडौं, २४ वैशाख । पर्सा जिल्लामा एकैदिन १७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा प्रवक्ता डा.विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणको क्रममा उनीहरुमा कोरोना पुष्टि भएको बताए ।
जसमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ भने समग्र नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
यस्तै ३ जनामा कोरोना दोहोरिएको छ । काठमाडौं सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष, रौतहटका १९ वर्षीय पुरुष र पर्साका ४४ वर्षीय पुरुषमा कोरोना दोहोरिएको छ । उनीहरुलाई पुनः जाँचका लागि अस्पताल भर्ना गरिएको छ ।