नमूना संकलन नहुँदा धनगढीका प्रयोगशालाले क्षमता अनुसार कोरोना परीक्षण गर्न पाएनन्

दैनिक क्षमता २८२, परीक्षण २० जना मात्रै



Download our app to get more features

धनगढी, २४ वैशाख । धनगढीमा स्थापना भएका कोरोना परीक्षण प्रयोगशालाको क्षमता अनुसार अहिलेसम्म परीक्षण हुन सकेको छैन् । धनगढीको सेती प्रादेशिक अस्पताल र पशु अन्वेषण प्रयोगशालामा स्थापना भएका आरटिपिआरसि मेसिनले आवश्यकता अनुसार थ्रोट स्वाबको नमूना नपाउँदा क्षमता अनुसार परीक्षण हुन नसकेको हो ।

सेती प्रादेशिक अस्पतालमा स्थापना भएको प्रयोगशालामार्फत दैनिक १२ जनासम्मको परीक्षण गर्न सकिन्छ । तर उक्त प्रयोगशाला भने महिना दिनदेखि बन्द छ। यस्तै धनगढीकै पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटिपीसीआर मेसिनमार्फत दैनिक दुई सय ७० जनाको परीक्षण गर्न सकिन्छ । तर उक्त मेसिनबाट पछिल्लो पाँच दिनमा ९७ जनाको मात्रै परीक्षण भएको छ । प्रयोगशालाका अनुसार अहिले दैनिक २० जनाको परीक्षण भईरहेको छ। 

थ्रोट स्वाब नमूना नै संकलन नहुँदा क्षमता अनुसार परीक्षण गर्न नसकिएको प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए। ‘प्रयोगशाला स्थापना भएदेखि हामीले कहिल्यै पनि क्षमता अनुसार परीक्षणका लागि थ्रोट स्वाबको नमूना पाएका छैनौ,’ शाहीले भने, ‘नमूना नै संकलन नभएपछि मेसिनको क्षमता अनुसार परीक्षण गर्न सकिएको छैन्।’ 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी ईन्चार्ज अस्मिता सापकोटाले अहिले थ्रोट स्वाब संकलनका लागि आवश्यक सामाग्री अभाव भने नभएको बताईन्। ‘विगतमा स्वाब संकलनका लागि आवश्यक पर्ने भीटीएमको अभाव थियो । तर अहिले भीटीएम हामीसंग मौज्दात छ । माग भए अनुसार जिल्लामा दिईरहेका छौ।’ यता प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने संघीय सरकारले बनाएको मापदण्ड अनुसार मात्र स्वाब संकलन भईरहेको बताए। ‘कोरोना भाईरसको लक्षण भएका व्यक्ति, पछिल्लो १४ दिनभित्र अन्तराष्ट्रिय आवागमन गरेका व्यक्ति, कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्ति र कोरोनाको लक्षण भएका स्वास्थ्यकर्मीको मात्रै स्वाब संकलन भईरहेको छ।

र्यापिड टेस्ट गर्दा पोजेटिभ देखाएका व्यक्ति, कोरोनाको उपचारमा संग्लन विशेष चिकित्सकले सिफारिस गरेका व्यक्तिको समेत पिसिआर परिक्षण गर्नुपर्ने मापदण्ड छ।’ कार्कीले दिनेश खवरलाई भने । तर यो मापदण्ड विपरित स्वाब संकलन भएर परीक्षण गरिएका कतिपय व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएको छ।
 

Last modified on 2020-05-06 14:46:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts