सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १३ जनाको मात्रै पीसीआरबाट कोरोना परीक्षण

धनगढी, २२ वैशाख । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा मात्र १३ जनाको मात्रै पीसीआर विधीबाट कोरोना परीक्षण भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।
पीसीआर परीक्षण गरिएका १३ जनाकै रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । यस्तै सोमबार नै एक सय ८ जनाको ¥यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । ¥यापिड टेस्टमा पनि कसैमा एन्टिबडी देखाएको छैन् ।
सोमबार पीसीआरबाटै कोरोना परीक्षणका लागि ६० जनाको थ्रोट स्वाब संकलन गरिएको जानकारी दिँदै स्वास्थ्य निर्देशनालयले सोमबार संकलन गरिएका ६० जनाकै नमूना परीक्षण रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।
सुुदूरपश्चिम प्रदेशमा अहिलेसम्म दुवै विधिबाट १७ हजार एक सय ३९ जनाको कोरोना र एन्टीबडी परीक्षण भएको छ । पीसीआर विधिबाट दुई हजार ८ सय ९५ जनाको परीक्षण र १४ हजार दुई सय ४४ जनाको ¥यापिड टेस्ट गरिएको निर्देशनालयको दावी छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म चार जना संक्रमित सहित कोरोना भाइरस संक्रमणको आंशकामा आइसोलेशनमा राखिएका एक सय १९ जनालाई डिस्चार्ज गरिएको छ । नौ जिल्ला रहेको प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा स्थापना गरिएका आइसोलेसनबाट अहिलेसम्म एक सय १८ जनालाई डिस्चार्ज गरिएको हो । शंकास्पदलाई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो भने संक्रमितलाई दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
यस्तै सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार अहिले प्रदेशभरीका क्वारेन्टाईनमा तीन हजार पाँच सय ७३ जनालाई राखिएको छ । प्रदेश भरी नौँ हजार ५६ जना अटाउने तीन सय ९२ वटा क्वारेन्टाइन स्थापना गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशभरी विभिन्न ठाउँमा एक सय ५४ जना अटाउने आइसोलेसन कक्षहरु पनि निर्माण गरिएको निर्देशनालयले जनाएको छ ।