स्वास्थ्यकर्मीको सेवा सुविधा जर्बजस्ती काटेकोमा चिकित्सक संघको ध्यानाकर्षण

काठमाठौं, २२ वैशाख । स्वास्थ्यकर्मी तथा चिकित्सहरुको सेवा सुविधा कट्टी गर्ने, अनुमति बेगर राहत कोषमा रकम जम्मा गर्न दबाब दिने, स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाँझ विभेदीकरण गर्नेलगायत गतिविधिप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण गरेको छ । सिंगो विश्व नै कोरोना भाइरस महामारीबाट पीडित बनेको र यस्तो बेलामा आग्रमोर्चामा रहेर काम गरिरहेका चिकित्सहरुको स्वास्थ्य संस्था सञ्चालकहरुले सेवा सुविधा र तलब कटौती, विभेदीकरण गरेकोमा संघले आपत्ती जनाएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिने निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि सरकारी कर्मचारीहरु कै सरह सुविधा दिने मन्त्री परिषद्को २४ चैतको निर्णयले देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई हौसला मिलेको थियो । तर सरकारको निर्णय विपरित चिकित्सकहरुको सेवा सुविधा कट्टि गर्ने, अनुमति बेगर राहतकोषमा रकम जम्मा गर्न दबाब दिने, स्वास्थ्यकर्मीबीच विभेद भइरहेकोमा संघले आपत्ति जनाएको हो ।
तसर्थ स्वास्थ्यसँग सरोकार राख्ने कुनै पनि जिम्मेवार निकायले स्वास्थ्यकर्मी तथा चिकित्सहरुको मनोबल गिराउने अस्वभाविक र विभेद गर्ने निर्णयहरु नेपाल चिकित्सक संघलाई मान्य नहुने सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता निर्णय कार्यान्वयन नगर्न नगराउन संघले सरोकारवाला निकायमा अपिल गरेको छ ।