तान्जानियामा बाख्रा र फलमा पनि देखियो कोरोना भाइरस

एजेन्सी, २२ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण मानिसका साथसाथै चमेरो, कुकुर, बिरालो पनि अछुतो छैन । यति हुँदाहुँदै अब बाख्रामा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ । एक अफ्रिकी मुलुकमा बाख्रा र फलमा पनि कोरोना पुष्टि भएको पाइएको छ । अफ्रिकी मुलुक तान्जानियामा आइतवार एक बाख्रा र अफ्रिकीमा पाइने एक विषेश प्रकारको फल पपमा कोरोना भाइरसपुष्टि भएको हो ।
तान्जानियामा बाख्रा र फलमा कोरोना पुष्टि भएपछि त्यहाँका राष्ट्रपति जन मागुफुलीले जाँच गलत भएको र यसको पुनः जाँच गरिनुपर्ने बताएका छन् । केहीदिन पहिले तान्जानियामा राष्ट्रपति मागुफुलीद्वारा कोरोना भाइरसको संक्रमणबारे सूचना लुकाएको भन्दै विश्वभर उनको आलोचना भएको थियो । राष्ट्पति मागुफुलीले आफ्ना नागरिकलाई भगवानसँग प्रार्थना गर्न भनेका थिए कि कोरोना भाइरसले उनीमाथि आक्रमण नगरुन् । त्यसपछि त्यहाँका नागरिकले नै उनको मजाक उडाउन थाले ।
बाख्रा र फलमा कोरोना भाइरस देखिएपछि राष्ट्रपति मागुफुलीले विदेशबाट प्राप्त भएको कोरोना टेस्ट किटमा खराबी भएको दावी गर्र्दै आएका छन् । बिग्रेको टेस्ट किट आफ्नो मुलुकमा पठाएको उनले आरोप लगाएका छन् । उनले फल र बाख्रामा कसरी कोरोना संक्रमण हुन सक्छ भन्दै प्रश्न पनि गरेका छन् । साथै राष्ट्रपति मागुफुलीले सेनालाई टेस्ट किटको जाँच गर्न आदेश पनि दिएका छन् । किनकी जाँच गर्ने व्यक्तिले मानिस बाहेक सबैको नमूना संकलन गरेका थिए । ती नमूना बाख्रा, पप फल र भेडाबाट लिइएको थियो । संकलन गरिएको नमूनालाई मानिसको उमेर र नाम दिइएको थियो । त्यसपछि संकलन गरिएको नमूना जाँचका लागि तान्जानियाको प्रयोगशालामा पठाइएको थियो । जहाँ बाख्रा र पप फलमा कोरोना पुष्टि भएको थियो ।
आइतवारसम्म तान्जानियामा कोरोनाका कारण चार सय ८० जना संक्रमित भएका छन् भने १७ जनाको मृत्यु भएको छ । तर, तान्जानिया सरकारले कोरोनबारे मुलुकमा हुने कुनै पनि घटनाबारे जानकारी दिने गरिएको छैन ।