कोरोना संक्रमित चितवनकी महिलाको चौथों रिपोर्ट पनि 'पोजेटिभ'



Download our app to get more features

चितवन, २१ वैशाख । चितवनकी ६३ वर्षीया कोरोना संक्रमित महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

चितवनको राप्ति नगरपालिका–८, निवासी ती महिलाको आइतबार प्राप्त पिसिआर रिपोर्ट पनि पोजेटिभ देखिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । पहिले पुष्टि भएको समेत गरेर यो उनको चौथो रिपोर्ट हो ।

उनीसँगै संकलन गरी परीक्षणको लागि हेटौंडा पठाईएका अरू ११ वटा नमुनाको नतिजा भने नेगेटिभ आएको उनले जनाए । भरतपुर १० स्थित वाईपास रोडमा रहेको भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा रिएजेन्टको अभावमा गत सोमबारदेखि परीक्षण नै रोकिएको छ । चितवनमा परीक्षण रोकिएपछि अहिले नमुना परीक्षणको लागि हेटौंडा र काठमाडौं पठाउन बाध्य भएको अस्पतालका सुचना अधिकारी पौडेलले बताए ।

यसअघि वैशाख ११ गते भरतपुर कोभिड(१९ प्रयोगशाला र १६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा दुई पटक पिसिआर प्रविधिबाट स्वाब पुनः परीक्षण गर्दा दुवै रिपोर्ट  पनि पोजेटिभ आएको थियो । उनलाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेको क्याविनमा राखेर उपचार गरिएको छ । कोरोना पोजेटिभ देखिए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनीसँगै संक्रमित देखिएका २७ वर्षीय छोराको भने दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि निको भएर उनलाई वैशाख १३ गते नै डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

महिलाको वैशाख ३ गते गरिएको र्या्पिड टेस्टमा शंकास्पद देखिएपछि सोहि दिनदेखि आमा-छोरालाई नै भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

उनीहरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षण रिपोर्टको आधारमा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । चैत ३ गते बेलायतबाट नेपाल आएका उनीहरू चैत ५ गते सार्वजनिक यातायात मार्फत काठमाडौंदेखि चितवन घरसम्म आएका थिए ।

विश्वभर कोरोनाको कारण लाखौंले ज्यान गुमाएको नेपालमा भने यसको संक्रमण देखिए पनि यसले खासै असर भने दखिएको छैन । यद्यपि चिकित्सकहरूले यसलाई सामान्य रूपमा नलिन सुझाएका छन् । सबैमा उच्च सतर्कता अपनाउन उनीहरूले अनुरोध समेत गरेका छन् ।

Last modified on 2020-05-03 23:16:53

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts