प्रदेश ५ मा पहिलो पटक भेटिए कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, १९ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार दुई जनामा कोरोना भाइरस देखिएसँगै संक्रमितको संख्या ५९ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा एक एक जनामा कोरोना संक्रमण फेला परेको छ। दुबै जना पुरूष हुन्। तीमध्ये रूपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन् भने नेपालगञ्जका ६० वर्षका पुरूष हुन् । मन्त्रालयका सह–प्रवक्ताका अनुसार उनीहरू दुबैको अवस्था सामान्य रहेको छ। दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा छन्। प्रदेश ५ मा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो।
संक्रमितमध्ये एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो । उनीहरु दुईमध्ये एक जना विदेशबाट आएको खुलेको छ । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीका अनुसार रुपन्देहीको मर्चबारको क्यारेन्टाईनमा एक जनामा कोरोना संक्रमण देखीएको हो । उनी केही समय पहिले दिल्लीबाट नेपाल आएका २५ बर्षिय युवा हुन् । स्वास्थ्यमन्त्रालयले जारी गरेको सुचनामा २ जना मध्ये एक नेपालगञ्ज र एक रुपन्देहीका भएको उल्लेख छ । दुबैलाई आईसोलेशनमा राखेर उपचार भैरहेको समेत डा. गिरीले बताए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ ।
मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार हालसम्म नेपालमा कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ । जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो । प्रदेश ५ मा ३ हजार ७ सय ९९ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।