सुदूरपश्चिममा कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर खरिद प्रक्रिया अझै सुरु भएन

धनगढी, १८ वैशाख । सुदूरपश्चिममा कोरोना संक्रमितको उपचारका लागि आवश्यक भेन्टिलेटर खरिदको प्रक्रिया अझै सुरु भएको छैन् । गत चैत १५ गतेको प्रदेश मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने २० वटा भेन्टिलेटर खरिदको निर्णय गरेको थियो । तर उक्त निर्णय गरेको हप्तौ पुगेपनि खरिदको प्रक्रिया अझै सुरु भएको छैन ।
मन्त्रीपरिषद्को बैठकले २० वटा भेन्टिलेटर खरिद गर्दै जिल्ला अस्पतालहरुलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । भेन्टिलेटर मात्र नभएर प्रदेश सरकारले स्थापना गर्ने तीन वटा प्रयोगशालाको समेत टुङगो लाग्न बाँकी छ । प्रदेश सरकारले कोरोना परीक्षणका लागि तीन जिल्लामा प्रयोगशाला बनाउने निर्णय गरेकोमा अझै कार्यान्वयनको प्रक्रिया अगाडी नबढेको हो ।
सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको गत चैत १५ गतेको निर्णय नम्बर २ को (घ) मा सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण प्रयोगशालाको व्यवस्था गर्ने र डोटी तथा बैतडी जिल्ला अस्पतालहरुमा समेत प्रयोगशाला स्थापना गर्ने उल्लेख छ । तर अहिलेसम्म प्रयोगशाला स्थापनाका लागि उपकरण खरिदको प्रक्रिया समेत थाल्न बाँकी छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रलाई रकम पठाइसकेको बताए । तर खरिदको प्रक्रियाका बारेमा जानकारी नभएको उनले बताए ।
चैत २७ गतेको मन्त्रीपरिषदको निर्णय नम्बर ५ को (घ) मा डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडीमा दुई÷दुई थान भेन्टिलेटर मेसिन खरिद गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई स्वकृति दिइएको छ । तर, प्रदेशको सामाजिक विकास मन्त्रालयले उपकरण खरिदका लागि प्रक्रिया समेत थालेको छैन् ।
गत वैशाख ७ गते प्रदेशको सामाजिक विकास मन्त्रालयले १५ करोड ७३ लाख ८० हजार उपकरण खरिदका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रलाई अख्तियारी दिएको छ । केन्द्रले भने उपकरणका लागि सामान खरिदको प्रक्रिया थालेको छैन् । प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले सामग्री खरिदका लागि मुल्यांकनको चरणमा रहेको बताए । उनले भने, ‘सामाजिक विकास मन्त्रालयले रकम पठाएको छ । विभिन्न कम्पनीहरुसंग उपकरण खरिदका लागि लाग्ने खर्चको बारेमा छलफल हुँदैछ । केहि दिनमा ठेक्का सम्झौताका लागि सूचना प्रकाशन हुन्छ ।’
उपकरण खरिदका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय कुन बोलपत्र निकाल्ने भन्ने विषयमा समेत केन्द्र अन्यौलमा छ । टेन्डरको सूचना प्रकाशन, खरिद सम्झौता, ढुवानी, जडान लगायतको काम पूर्ण हुन कम्तीमा अझै तीन महिना लाग्ने देखिएको छ । अन्तर्राष्ट्रिय बोपत्र आह्वान गर्ने तयारीमा केन्द्र छ । आपुर्ती कर्तासंग सामान भएरनभएको बारेमा पनि अन्यौलता रहेकाले कम्तिमा तीन महिना अझै लाग्ने श्रेष्ठले बताए ।