तिलोत्तमामा मिर्गाैला पीडितका लागि डायलाइसिस सेन्टर स्थापना हुने

रुपन्देही, १८ वैशाख । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रुपन्देहीको तिलोत्तमामा नेपालकै सबैभन्दा बढी क्षमता र सुविधासम्पन्न मिर्गाैलाको डायलाइसिस सेन्टर स्थापना गर्ने भएको छ ।
तिलोत्तमा नगरपालिकामा स्थापना गरिने उक्त सेन्टरमा ७५ वटा डायलाइसिस मेसिन जडान गरिने छ । बिगत पाँच वर्षदेखि मिर्गाैलाका बिरामीहरुको उपचार र डायलासिस गर्दै आएको अस्पतालले हाल २० वटा मेसिनबाट चौबिसै घन्टा सेवा प्रदान गरिरहेको छ ।
अस्पतालमा रुपन्देहीका मात्र नभई नवलपरासी, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लाबाट समेत डायलाइसिस गर्नुपर्ने बिरामीहरु आउने गर्दछन् । टाढाबाट आउनुपर्ने बिरामीहरुलाई रातिको समयमा डायलासिस सेवा लिन आउन र जान समस्या भएकोले तिलोत्तमामा नयाँ डायलासिस सेन्टर स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।
सेन्टरको स्थापनापछि एच.आई.भि. र हेपाटाइटीसका बिरामीहरुले समेत यहीबाट डायलाइसिस सेवा प्राप्त गर्ने छन् । हाल एच.आई.भि. तथा हेपाटाइटीसका बिरामीहरुको मिर्गाैलाको डायलासिस गर्नुपरेको अपस्थामा काठमाडांै जानुपर्ने बाध्यता छ । नयाँ निर्माण हुने डायलासिस सेन्टरमा जडान गरिने ६० वटा मेसिनबाट सामान्य अवस्थाका बिरामी र १० वटा मेसिनबाट एच.आई.भि. र हेपाटाइटीसका बिरामीको डायलासिस गरिने अस्पतालका वरिष्ठ मिर्गाैलारोग बिशेषज्ञ डा.रजत कायस्थले जानकारी दिए ।
त्यसतै ३ वटा मेसिन संस्थापक सदस्य तथा विशिष्ट व्यक्तिका लागि छुट्याइनुको साथै २ वटा मेसिन इमरजेन्सी कक्षमा जडान गरिने छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने उक्त सेन्टरबाट स्तरीय र भरपर्दो सेवा प्रदान गर्नुको साथै बिरामीको सुविधा तथा मनोरञ्जनको लागि विशेष ध्यान दिइएको छ ।
एकपटकमा डायलासिस गर्दा कम्तिमा ४ घन्टा समय लाग्ने भएकोले बिरामीहरुलाई सुविघा युक्त इलेक्ट्रीक बेड र हरेक बेडमा टेलिभिजन र वाइफाई जडान गर्नेगरीे योजना बनाइएको छ । करिब २५ करोडको लागतमा निर्माण गरिने सेन्टरका लागि प्रदेश ५ सरकार, तिलोत्तमा नगरपालिका, रोटरी क्लब अफ सेन्ट्रल बुटवल र अन्य सहयोगी संघ संस्थाहरुको सहकार्य र स्थानिय बासीको सहयोगमा निर्माण कार्य सम्पन्न गरिने अध्यक्ष आलमले बताए । मुटु अस्पतालले बुटवलको साथै दाङको लमहीमा १० र पाल्पाको तान्सेनमा १० वटा मेसिन जडान गरि सेवा प्रदान गर्दै आएको छ । केही समय भित्र स्याङजाको वालिङमा पनि १० वटा मेसिन जडान गरि सेवा संचालन गर्ने अन्तिम तयारी रहेको अस्पतालले जनाएको छ ।