कोरोना संक्रमित फेला परेको बाराको जीतपुरसिमरा क्षेत्र सिल 



Download our app to get more features

काठमाडौं, १७ वैशाख । थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको स्वाब परीक्षणका क्रममा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बारा र पर्साका तीन जनामा आज संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५७ पुगेको जानकारी गराए ।  प्रवक्ता देवकोटाका अनुसार उनीहरू तिनै जना वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितसँगै दिल्लीबाट फर्किएका थिए । पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ६७ नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी गराए । 
नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ११ हजार पाँच सय २४ र दु्रत नतिजा देखाउने विधिबाट ४५ हजार ६ सय ६५ नमुना परीक्षण भएका छन् । देशभर आइसोलेसनमा ८७ जना छन् भने हालसम्म क्वारेन्टाइनमा २२ हजार ९ सय १ जना रहेका छन् । 

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी गरेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबाट रोगसँग लड्न सक्ने क्षमता कसरी बढाउन सकिन्छ भन्ने विषय निर्देशिकामा उल्लेख भएको बताए । उनका अनुसार घरमै उपलब्ध जडिबुटीहरूको सही प्रयोग कसरी गर्न सकिन्छ, क्वारेन्टटाइमा रहेका बेला, घरमै अन्य व्यक्तिहरू रहेका बेलामा निराशापन, डिप्रेशनलाई कसरी कम गर्न सकिन्छ, योगा अभ्यासहरू, व्यायामहरू, त्यसैगरी निको भएर घर फर्किएका व्यक्तिहरूलाई पुनरुस्थापनाका लागि कसरी सघाउन सकिन्छ भन्ने जस्ता विषय यो निर्देशिकामा समेटिएको छ । 

संक्रमित फेला परेको क्षेत्र सिल
बारामा एकैदिन दुई जनामा कोरोना संक्रमण देखिएपछी उनीहरू रहँदै आएको स्थान सिल अर्थात् पूर्ण बन्द गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरामा बस्दै आएका दुई जनामा संक्रमण भेटिएपछि प्रशासनले उक्त क्षेत्र सिल गरि उनीहरूको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरेको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts