कोरोना संक्रमितको संख्या ५८ पुग्यो



Download our app to get more features

काठमाडौं, १७ वैशाख । बुधबार एकै दिन थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भेटिएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए। 

उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन। ती चारै जना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन्। उनका अनुसार सङ्क्रमितमध्ये एक जना अस्पताल र अर्का तीन जना क्वारेन्टाइनमा छन्। सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन्।  थप चार जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भइ १६ जना घर फर्किएका छन्। अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको नजिक रहेका कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाइएको छ। -रासस

Last modified on 2020-04-29 21:19:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts