प्रदेश २ का थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं, १७ वैशाख । प्रदेश २ मा थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण गरेको कोरोना विशेष अस्थाई अस्पतालको क्वारेन्टाईनमा रहँदै आएका तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज–२ छपकैयाका ४६ वर्षका पुरुष हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
संक्रमितहरुको पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाएको थियो । स्वाबमा कोरोना पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पण्डितले हाम्रो डाक्टर न्यूजलाई बताए ।
वीरगञ्जको ईनरुवाका कोरोना संक्रमितको सम्पर्कमा आएका उनीहरुलाई गत १३ चैतमा जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण गरेको कोरोना विशेष अस्थाई अस्पतालको क्वारेन्टाईनमा भर्ना गरिएको थियो । उनीहरुमा कोरोना भाईरसको कुनै लक्षण नदेखिए पनि संक्रमणको आशंकामा १३ चैतमा नै स्वाब संकलन गरि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो । उनीहरुमा कोरोना पुष्टि भएकोबारे भने स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पुष्टि गर्न बाँकी छ ।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना विशेष अस्थाई अस्पताल श्रोतले जानकारी दिएको छ ।