कोरोना संक्रमित चितवनकी महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

चितवन, १७ वैशाख । कोरोना संक्रमित चितवनकी महिलाको कोरोना भाइरस (कोभिड–१९) को तेस्रो पटक परीक्षण गर्दा पुनः रिपोर्ट पोजेटिभ आएको छ ।
चितवनको राप्ति नगरपालिका–८, निवासी ६३ वर्षकी महिलाको तेस्रो पटक कोरोना परीक्षण गर्दा मंगलबार साँझ अबेर प्राप्त पिसिआर रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीसँगै संकलन गरी पठाईएका २२ वटा नमुनाको नतिजा भने नेगेटिभ आएको उनले जनाए । नमुना सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पिसिआर प्रविधिबाट स्वाब परीक्षणको लागि पठाइएको थियो ।
उनको बिहिबार दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
उनीसँगै संक्रमित देखिएका २७ वर्षीय छोराको भने दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि उनलाई निको भएर शनिबार नै डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
महिलाको वैशाख ३ गते गरिएको र्यापिड टेस्टमा शंकास्पद देखिएपछि सोहि दिनदेखि आमा-छोरालाई नै भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।
चैत ३ गते बेलायतबाट नेपाल आएकी वर्ष ६३ की महिला र उनको २७ वर्षको छोरामा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । चैत ५ गते उनीहरू सार्वजनिक यातायात मार्फत काठमाडौंदेखि चितवन घरसम्म आएका थिए ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।