पीसीआरमा लगातार गलत रिपोर्ट आएपछि प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण रोकियो

जनकपुर, १७ वैशाख । प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण स्थगित गरिएको छ ।
अस्पतालमा स्थापना गरिएको पीसीआर परीक्षण ल्याबमा कोरोना परीक्षणको रिपोर्ट गलत आएपछि प्रयोगशालामा कोरोना परीक्षण बन्द गरिएको हो ।
सर्लाहीको क्वारेन्टाइनमा रहेका १४ वर्षीय एक जना किशोरमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको र फेरि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा त्यही किशोरको रिपोर्टे पोजेटिभ आएको थियो । यस्तै मंगलवार पनि रौतहटका दुई जनाको रिपोर्ट नेगेटिभ आएको र फेरि टेकुमा परीक्षण गर्दा पोजेटिभ आएको थियो । लगातार ३ जनाको रिपोर्ट नै फल्स भएको भन्दै स्वास्थ्य मन्त्रालयले मंगलवारदेखि प्रयोगशाला नै बन्द गरेको हो ।
क्वारेन्टाइनमा बसेकाको रिपोर्ट गलत आएर घर फर्काइ दिने गरेको र फेरि त्यसको परीक्षणमा कोरोना पुष्टि हुँदा त्यसले कोरोनाको जोखिम बढाएको भन्दै यसअघि नै सरकारले प्रादेशिक अस्पतालमा गरिने कोरोना परीक्षण दोहोर्याएर गर्न निर्देशन दिएको थियो ।
जनकपुरधाममा २१ चैतदेखि पिसिआर मेसिन जडान भएर थ्रोट स्वाब परीक्षण सुरु भएको थियो । प्रादेशिक स्वास्थ्य निर्देशनालयकाअनुसार अहिलेसम्म १ सय २ वटा स्वाब परीक्षण भएको छ र सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।
यही नेगेटिभ देखिएकामध्ये तीन जनाको टेकुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि यो पीसीआर मेसिनबाट परीक्षण नै बन्द गरिएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले तत्कालका लागि परीक्षण स्थगन गरिएको बताएका छन् ।
पाँच दिन यता संकलन गरिएका थ्रोट स्वाबको नमुनाहरु परीक्षणका लागि टेकु नै पठाइने गरेको उनले बताए ।